गोविन्दराज जोशी गिरिजाप्रसाद कोइराला मैले नसुनेको नाम थिएन । संयोगले ०१७ साल पुस १ गते नै अध्ययनको सिलसिलामा तनहुँबाट काठमाडौँ आएँ । त्यतिखेर उहाँ जेल परिसक्नुभएको रहेछ । त्यसैले उहाँसँग मेरो भेट भने भएन । बिपी कोइराला, गणेशमान सिंहसँग भने आमनिर्वाचनअघि मेरै गाउँमा गएका वेला पहिल्यै भेटेको थिएँ । गिरिजाबाबु ०२४ सालमा आमरण अनशन बसेर जेलबाट छुटेपछि दीर्घराज कोइरालाको निवास मैतीदेवीमा बस्नुहुन्थ्यो । ०२३/२४ सालमा म अहिलेको शिक्षा संकाय त्रिवि त्यतिखेरको शिक्षा कलेज, कीर्तिपुरको सभापति थिएँ । कीर्तिपुरमा शिक्षा र अन्य विषयका छुट्टाछुट्टै युनियन थिए । युनियनको निर्वाचनका लागि सरसल्लाह गर्न र सामयिक राजनीतिबारे कुरा गर्न म गिरिजाबाबुको मैतीदेवीस्थित निवास गएको थिएँ । उहाँसँग मेरो पहिलो भेट त्यही थियो । पछि, उहाँ गैरीधारामा नातेदारकहाँ बस्नुभयो । उहाँ काठमाडौं रहँदा पटक-पटक भेट भइरहन्थ्यो । बिपी, गणेशमानलाई जेलबाट छुटाउन र सुवर्णशमशेरसमेतका कांग्रेसनेतालाई निर्वासनबाट नेपाल फर्काउन उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । जेलबाट छुटेको केही समयपछि उहाँ भारत निर्वासनमा रहनुभयो । भारतमा रहँदा उहाँको भूमिका प्रजातन्त्र पुनस्र्थापनाका लागि भारतमा रहनुभएका बिपीलाई सहयोग गर्ने थियो । त्यतिखेर नेपालबाट बनारस जाने सबै कांग्रेसनेताका लागि बिपी कोइरालासँग निर्देशन लिनु प्राथमिकतामा पथ्र्यो । बिपी भारतमा रहँदा मेरो पनि बिपीसँगै सीधा सम्पर्क हुन्थ्यो । ०३३ साल पुस १६ गते बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केपछि नेपाली राजनीतिमा भारतमा रहनुभएका गिरिजाप्रसादको भूमिका प्रभावकारी हुन थाल्यो । त्यसैवेला बिपीले गिरिजाबाबुलाई कांग्रेसको महामन्त्री पनि बनाउनुभयो । बिपी नेपाल फर्केको करिब ६ महिनापछि ०३४ को सुरुतिर गिरिजाबाबुले पटनामा त्यहाँका एमएलए शरयुग मिश्रको निवासमा कांग्रेसको बैठक बोलाउनुभयो । उक्त बैठकमा म पनि उपस्थित थिएँ । त्यहाँ नेपालका विभिन्न जिल्लाबाट कांग्रेसका प्रतिनिधि भेला भएका थिए । त्यही बैठकपछि कांग्रेसका औपचारिक जिल्ला समितिहरू गठन भएका हुन् । गिरिजाबाबुको कांग्रेस संगठनमा यसरी प्रभाव र पहुँच बढ्दै गएको हो । त्यही समयमा बिपी भारत भएर औषधोपचारका लागि बाहिरी मुलुक जाने र र्फकने गर्नुहुन्थ्यो । भारतको गान्धीमैदानमा बिपीको सम्मानमा आयोजित आमसभा र पटनाको एसेम्ब्ली हलमा बिपीले कांग्रेसनेता तथा कार्यकर्तालाई निर्देशन दिने कार्यक्रममा म उपस्थित थिएँ । यिनै कार्यक्रममा जाँदा भारतमा मेरो गिरिजाबाबुसँग पटकपटक भेट हँुदा बिपीको राजनीतिक जीवनयात्रामा गिरिजाबाबु साँच्चैको हस्ती भएको महसुस भयो, उहाँबाट प्रभावित भएँ । ०३५ सालमा उहाँले गोरखपुरमा नेपालका जिल्ला-जिल्लाको बैठक बोलाउनुभयो । तनहुँ पार्टी-सचिवका हैसियतमा म त्यस बैठकमा सहभागी भएको थिएँ । बिपीको निधनअघि गिरिजाबाबुको भूमिका उनलाई सघाउने थियो । बिपीले आफ्नो जीवनको अन्त्यतिर गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसादलाई सँगसँगै कार्यकर्ता प्रशिक्षण शिविरमा जिल्लाजिल्ला पठाएर आफू काठमाडौंमा बसेर अनुगमन गरिरहनुभयो । यसरी नेपाली कांग्रेसमाथि र अन्ततः नेपाली राजनीतिमा गिरिजाबाबुको पहुँच र पकड बन्दै गयो । ०४२ को सत्याग्रह र ०४६ को जनआन्दोलनले त गिरिजाबाबुलाई पूर्ण रूपले प्रतिष्ठापित नै गरायो । ०४८ को आमनिर्वाचनपछि उहाँ नेपालको दोस्रो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । बिपी बिहान सबेरै उठेर खुला आकाश हेर्दै चिन्तन गर्छु भन्नुहुन्थ्यो । सायद त्यही प्रभावले गिरिजाबाबु पनि बिहान ४ बजे नै उठ्नुहुन्थ्यो । उहाँको सुत्ने कोठामा बिहान ४ बजे, ५ बजे र ६ बजे पुग्ने निश्चित मानिस हुन्थे । यही समय उहाँको दिनभरिका योजना बन्थे । यही समयमा उहाँले आवश्यक सबै मानिससँग टेलिफोन सम्पर्क गर्नुहुन्थ्यो । मेरो पनि बिहान ५-६ बजे नै उहाँको निवास पुग्ने दैनिकी नै थियो । बिहान उठ्न नपाउँदै टेलिफोन बज्यो भने त्यो टेलिफोन उहाँकै हुन्थ्यो । ७ बजेपछि भने उहाँ सार्वजनिक भेटघाटमा व्यस्त रहनुहुन्थ्यो । बेलुका भने उहाँका लागि अनुकूल समय मानिँदैनथ्यो । उहाँ चाँडै नै सुत्न मन पराउनुहुन्थ्यो । प्रधानमन्त्री हुँदा सातामा एकदिन बेलुका राजाकहाँ जानुपर्ने र अबेरसम्म राजासँग कुरा गर्नुपर्ने हुँदा त्यो समय उहाँका लागि अत्यन्त कठोर हुन्छ भन्नुहुन्थ्यो । उहाँसँग बेलुका टेलिफोनमा कुरा गरेको बिरलै याद छ । कहिलेकाहीँ बेलुका रिसाएर कुरा गरिहाले पनि म त्यसलाई गम्भीरतापूर्वक लिन्नथेँ । त्यसलाई उहाँको तत्कालीन परिस्थितिको उपज मान्थेँ र भोलिपल्ट बिहानै गएर उहाँलाई सन्तोष दिलाउँथेँ । यसैले क्रियाशीलता उहाँबाट सिक्नुपर्ने महात्त्वपूर्ण पाठ हो । गिरिजाबाबुको गुण या दोष जे भने पनि उहाँ जसलाई पनि विश्वास गर्नुहुन्थ्यो, भरोसामा रहनुहुन्थ्यो । उहाँको राजनीतिक जीवनमा समय-समयमा उहाँले विश्वास गर्नेहरूको फरक-फरक नाम चर्चामा आउने गर्थे । उहाँको सबैभन्दा कमजोर पक्ष थियो, उहाँलाई कसैले गम्भीरतापूर्वक कुनै कुरा भनिदियो भने पत्याइहाल्ने । खासगरी द्विविधाजनक अवस्थामा उहाँसँग काम गर्न अत्यन्त कठिन हुन्थ्यो । एउटा यस्तै घटना छ । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँमाथि अविश्वासको प्रस्ताव राख्ने कुरामा म, खुमबहादुर खड्का र विजयकुमार गच्छदार सहमत भयौँ । हामी बिहानै गिरिजाबाबुकहाँ गएर हस्ताक्षर गरेको कागज माग्यौँ । अविश्वासको प्रस्ताव पारित हुनेमा हामीले उहाँलाई विश्वास दिलाएका थियौँ । हाम्रो पार्टीमा अविश्वासको प्रस्तावको विरोध गर्नेहरू पनि थिए । हामी हिँडेपछि त्यो समूहले गिरिजाबाबुलाई अविश्वासको प्रस्तावका विपक्षमा प्रभाव पार्छन् भन्ने हामीलाई आशंका थियो । त्यतिखेर मोबाइल थिएन । त्यहाँबाट निस्केपछि अविश्वासको प्रस्ताव दर्ता नगरी उहाँसँग सम्पर्क नगर्ने निधो भयो । हामीसँग सम्पर्क भयो भने अविश्वासको प्रस्ताव दर्ता गर्न रोक्नुहुन्छ भन्ने हामीलाई पक्का थियो । नभन्दै उहाँले हामीलाई खुब खोज्नुभएछ । हामीले सम्पर्क नगरी ठीक साइतमा अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेपछि विजयलाई सम्पर्क गर्न लगायाँै । विजय उहाँसँग कम डराउँथ्यो । उहाँले खुब हप्काउनुभयो । हामीलाई थाहै भएन भनेर भन्यौँ । त्यहाँबाट तुरुन्तै उहाँको निवास महाराजगन्ज गयौँ र उहाँलाई सम्झायाँै । दर्ता गर्ने वेलामा मलाई एकपटक सोध्नुपथ्र्यो मात्र भन्नुभयो । हामीले नबुझेजस्तो गरेर त्यहाँ हतार भयो खबर गर्न भुल्यौँ भन्यौँ । अलिकति गल्ती भयो भन्याँै । तर, हामीले गल्ती गरेका थिएनौँ, भुलेका पनि थिएनौँ । उहाँको स्वभाव यस्तो थियो । वास्तवमै उहाँ सरल मिजासका मानिस हुनुहुन्थ्यो । उहाँ रिसाएको कसैलाई पत्तै हुदैनथ्यो । रिसाउँदा चुरोट खुब तान्नुहुन्थ्यो । खुसी हँुदा उहाँको अनुहार प्रफुुल्लित देखिन्थ्यो । उहाँले खित्का छाडेर हाँसेको मैले कहिल्यै देखिनँ । प्रफुल्लित भएको वेलामा उहाँ आफ्ना जीवनका अन्तरंग कथा, रोचक घटनाहरू सुनाउनुहुन्थ्यो । जिल्ला-भ्रमणमा जाँदा धेरै समय हामी प्रायः सँगै हुन्थ्याँै । महेश आचार्यजी राम्रो वक्ता भएको हुँदा भ्रमणमा उहाँको साथमा प्रायः रहनुहुन्थ्यो । भ्रमणअघि बिहान ४ बजेदेखि ६ बजेको बीचमा उहाँसँग छलफल हुन्थ्यो । त्यही छलफल उहाँका लागि दिनभरिको भाषणको विषय बन्थ्यो, ऊर्जा हुन्थ्यो । गिरिजाबाबु अरूले गरेको कुरा मन नपरे चुपचाप बस्नुहुन्थ्यो, प्रतिवाद गर्नु हुन्नथ्यो । चुपचाप बसेको देख्दा मानिसलाई लाग्थ्यो, उहाँको खुब चित्त बुझेको छ, तर त्यस्तो हुन्नथ्यो । यो स्वभावले कतिपय मानिससँग असमझदारी पनि सृजना हुन्थ्यो । कठोरभन्दा कठोर निर्णय लिन पनि डराउनु हुन्नथ्यो भने मानिसका प्रति उहाँ अत्यन्त दयावान् पनि हुनुहुन्थ्यो । मानिस हो देवता होइन, यत्रो लामो जीवनमा उहाँका केही कमजोरी हुन सक्छन् । तर, आमकार्यकर्ता र सामान्य नागरिकले पनि यति माया गर्ने नेता अब नेपालमा पाउनेछैनन् । गिरिजाबाबु जिल्ला-भ्रमण खुब रुचाउनुहुन्थ्यो । बिपीको निधनपछि उहाँ अझ सक्रिय हुनुभयो । राष्ट्रिय मेलमिलाप दिवस, बिपीजयन्तीमा वृक्षरोपण पार्टीका विशेष कार्यक्रम हुन्थे । ती कार्यक्रममा पोखरातर्फ जाँदा एकपटक दमौलीस्थित मेरो घरमा खाना खाने कार्यक्रम थियो । मेरो घरमा पुग्नासाथ प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आएको मन्डलेहरूको जमातले उहाँमाथि आक्रमण गर्न थाल्यो । डा. शेखर कोइरालासमेतका साथीहरू पनि सँगै हुनुहुन्थ्यो । त्यहाँ बस्न सक्ने अवस्था भएन । उहाँसँगै हामी पोखरा गयौँ । त्यही पटकको उहाँको कार्यक्रममा रुपन्देहीमा यादवनाथ आलोकको हत्या भयो । त्यसको अभ्यास दमौलीबाटै सुरु गरिएको रहेछ । यस्ता परिस्थितिलाई उहाँ सहज रूपमा सामना गर्नुहुन्थ्यो । राजनीतिमा उहाँका निर्णय अत्यन्त कठोर हुन्थे । कांग्रेस कार्यकर्तामा ‘जय नेपाल’ भन्ने अभियानको सुरुवात उहाँले नै गर्नुभएको थियो । उहाँले संसद् पुनस्र्थापनाको कुरा गर्दा उहाँलाई सबैले खिल्ली उडाए । संसद् पुनस्र्थापनाका लागि सर्वाेच्च अदालतमा रिट निवेदन गर्ने निर्णय भयो । कमसेकम बहुमत सदस्यले निवेदन दिने कुरा भयो । अरू दलका सांसदले त निवेदनमा हस्ताक्षर गर्ने कुरै भएन । स्वयं हाम्रा दलका सांसदहरू, अहिलेका कांग्रेस संसदीय दलका नेताले समेत हस्ताक्षर गर्न मान्नुभएन । निवेदनमा बहुमत सांसदको हस्ताक्षर भएन । निवेदनमा उहाँले अब म आफँै हस्ताक्षर गर्छु भन्नुभयो । सकभर उहाँलाई निवेदक नबनाउने हाम्रो विचार थियो । आखिर कसैले पनि नपत्याउँदा नपत्याउँदै संसद् पुनस्र्थापना भएरै छाड्यो । उहाँसँग काम गर्न अत्यन्त सहज हुन्थ्यो । कांग्रेसको दसौँ महाधिवेशनपछि पार्टी नफुट्दै उहाँ सभापति हुनुहुन्थ्यो । सुशील कोइराला महामन्त्री र म सहमहामन्त्री । पार्टीको कुनै काममा उहाँले हस्तक्षेप गरेको महसुस गरिनँ । कहिलेकाहीँ उहाँलाई गलत सूचना दिइन्थ्यो । उहाँलाई ठीक कुरा यो हो भनेपछि सम्झनुहुन्थ्यो । म पार्टी केन्द्रीय कार्यालय भवन निर्माण समितिको अध्यक्ष पनि थिएँ । सानेपामा भवन उद्घाटन कार्यक्रम बन्यो । पार्टी कार्यालय आपmनै भवनमा बस्न पाउँदा कार्यकर्ता खुसी थिए । उद्घाटन कार्यक्रमको अघिल्लो रात करिब ७ बजे उहाँको टेलिफोन आयो । तर, उहाँले म भोलि बिहान आउँदिनँ । तपाईंहरूले बोलाएका मानिसलाई चियासिया खुवाएर पठाउनुहोस् । मैले बुझिहालेँ— उहाँ अब नआउनुहुने भयो । मैले त्यतिखेर केही भनिनँ । मैले म भोलि बिहान आउँछु भनेँ । बिहान सबेरै गएँ । कोठामा उहाँ र नोनाभाउजू मात्र हुनुहँुदोरहेछ । अरू पुगिसकेका रहेनछन् । मैले उहाँलाई भनेँ— विदेशी कूटनीतिक नियोगका मानिसहरूलाई बोलाइएको छ, तपाइर्ं नजाँदा पार्टीकै बेइज्जत हुन्छ ।’ नोनाभाउजूले पनि मलाई सहयोग गर्नुभयो । तपाईंले उद्घाटन गर्ने भनेर कार्ड छापिसकेको रहेछ, तपाईं जानैपर्छ भनिदिनुभयो । गिरिजाबाबुले त्यसपछि त्यसो भए कार्यक्रम अत्यन्त छोटो राख्नुहोला भन्नुभयो । उहाँ आउनुभयो । भवन उद्घाटन भयो । तर, कांग्रेसका केही नेताले सो कार्यक्रम बहिस्कार गरे । यसरी उहाँलाई यो काम राम्रो हो, तपाइर्ंले गर्नुपर्छ भनेपछि गर्नुहुन्थ्यो । उहाँलाई भड्काउन पनि सजिलो थियो । मानिसहरू गिरिजाबाबुको आलोचना पनि गर्छन् । उहाँका कमजोरी थिएनन् भन्न मिल्दैन । जीवनका अन्तिम दिनहरूमा उहाँ केही आलोच्य पनि हुनुभयो । तर, प्रकाश कोइराला र विजयकुमार गच्छदार कांग्रेस केन्द्रीय समितिमा चुनाव लड्दा उहाँले विजय गच्छदारलाई जिताउनुभयो, सुनसरी १ बाट ०५६ को निर्वाचनमा सुजाता कोइरालालाई सांसदको टिकट दिनुभएन र सुजातालाई नै केन्द्रीय सदस्यको निर्वाचन लड्न खोज्दा शैलजाको उजुरी परेपछि सुजाताको पक्ष लिनुभएन । उहाँका जीवनका यी निर्णयलाई पनि हामीले बिर्सन हुँदैन । उहाँलाई यो काम तपाईंले गर्न हँुदैन भनेपछि गर्नुहुन्नन्थ्यो । केवल उहाँलाई यो काम तपाईं र कांग्रेसकै अहितमा छ भनेर भन्नुपथ्र्यो । स्व. नोना कोइराला त्यस्तो गराउन सक्नुहुन्थ्यो । म, खुमबहादुर र विजय एकै ठाउँमा हुँदा हामीले भनेका कुरा उहाँले कहिल्यै काट्नुभएन । अरूले जे भनून्, जस्तोसकै दुःखका दिनमा पनि मैले उहाँको साथ छाडिनँ । ०६२ र ०६३ को आन्दोलनको घोषणा उहाँको नामबाट मैले नै गरेको थिएँ । उहाँका सहयोगी कृष्णचन्द्र झालाई यस विषयमा राम्ररी थाहा छ । आन्दोलनको सफलतापछि उहाँलाई सहयोग गर्नेहरू धेरै भए । मैले मेरो जरुरत सम्भिनँ । गिरिजाबाबुले जीवनको अन्त्यतिर सहकार्य, सहमति र एकताको कुरा बारम्बार दोहोर्याउनुहुन्थ्यो । यो राष्ट्रिय राजनीतिमा मात्र होइन, कांग्रेसभित्र पनि हो । उहाँको शवयात्रामा देखिएको सहभागिताले कांग्रेसभित्र पनि सहकार्य, सहमति र एकता खोजिरहेको आभास भएको छ । कांग्रेस एक छ, रहनेछ भन्ने सन्देश हामीले आमकार्यकर्तालाई दिनुपरेको छ । कांग्रेसका जिम्मेवार नेताहरूले यो भावना बुझ्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जली हनेछ । जोशी कांग्रेस केन्द्रीय सदस्य हुन् ।