वर्ष ११, अंक ३०, २०६६ साल चैत २८ गते शनिबार – गोविन्दराज जोशी, नेता, नेपाली कांग्रेस ० अहिले कांग्रेसमा नेतात्रयको कुरा आएको छ, बीपीको अवसानपछि नेतात्रयको अवधारणा पार्टीले बोकेको थियो, अहिले उठाइएको नेतात्रयको अवधारणा एउटै खालको हो ? – बीपी जुनबेला हुनुहुन्थ्यो, त्यो बेला नेपाली कांग्रेस वैधानिक रूपमा राजनीतिक संगठनको रूपमा क्रियाशील थिएन । ०१७ सालदेखि दलहरू प्रतिबन्ध लागे र हाम्रो अधिवेशनहरू हुन सकिरहेको थिएन । त्यसैले बीपीले किसुनजीलाई कार्यवाहक सभापति दिनुभयो । बीपीको जीवनकालभरि फेरि नेपाली कांग्रेस वैधानिक रूपमा संगठित हुन सकेन, नसकेपछि जीवनको अन्त्यतिर यद्यपि तीनवटा नेताको वैधानिक निकाय होइन । तर, गणेशमानजी नेपाली कांग्रेसको एउटा वरिष्ठ नेता हुनुहुन्थ्यो । कृष्णप्रसाद भट्टराई कार्यवाहक सभापति हुनुहुन्थ्यो, गिरिजाबाबु पार्टीको महामन्त्री हुनुहुन्थ्यो र बीपीले ‘तपाईंहरू अब अधिवेशन नहुँदासम्मको लागि मिलेर सहमतिको आधारमा पार्टीलाई चलाउनुस्’ भनेको हो । त्यो बेलाको परिस्थितिमा त्यो थियो । जब नेपाली कांग्रेस वैधानिक रूपमा आइसकेपछि उहाँहरू तीनजना जीवितै हुँदा पनि त्रयनेताको अवधारणा कार्यन्वयन भएन । किनभने किसुनजी सभापति हुँदा सभापतिको हैसियतले आफूले चलाउनुभयो । गिरिजाबाबु सभापति हुँदा उहाँले चलाउनुभयो । गणेशमानजी कतिपय कुराहरूमा सहभागी हुनुहुन्थेन । जब नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भयो, त्यसपछि पार्टी करिब–करिब संस्थागत रूपमा चल्दै जाँदा, त्रय होइन बीपी, त्यसपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाबाबु हुँदा सिंगो पार्टी नै एउटा व्यक्तिले चलाउनुभयो । त्यो सबैको लागि मान्य थियो । अस्तिको महासमितिको बैठकले हामीले सामूहिक नेतृत्वमा जाने निर्णय ग¥यौं । महासमितिको बैठकमा विधान पारित भइसकेको छ । हामीकहाँ सभापतिको पनि विशेषाधिकार छैन । संसदीय दलको नेता त हामीकहाँ पदेन सदस्य हो । वरिष्ठ नेताको प्रावधान नै विधानमा छैन । हुन त एउटा राम्रो कुरा के हो भने तीनजना बसेर एउटा बैठक पनि गर्न सकेनन् र पार्टीमा विभाजन छ भन्ने देखाइदिएर आफ्नो असक्षमता प्रदर्शन गरे तर कुरा के हो भने त्यो मान्यता नेपाली कांग्रेसको लागि अहिले छैन, हुँदैन । त्यसैले नेपाली कांग्रेसमा अब सामूहिक नेतृत्व अर्थात् कार्यसमितिको नेतृत्व हुन्छ । कार्यसमितिले छलफल गरेर निर्णय गर्छ, पदाधिकारीहरूले लागू गर्छन् । त्यसकारणले गर्दा त्रयनेता, चार नेता र पाँच नेता भन्ने हाम्रो पार्टीमा हुँदैन । ० यहाँले यसो भन्दै गर्दा गिरिजाबाबुपछिको नेतृत्वकर्ता म हुँ भन्ने अभिव्यक्ति आइरहेको छ, यसलाई कसरी बुझ्ने ? – कुरा के हो भने विधानले कुनै हैसियत नतोकेका मान्छेहरू, नेपाली कांग्रेसको विधानमा सभापतिलाई निश्चित अधिकारहरू दिइएको छ । वास्तवमा बैठक बोलाउने र बैठकका निर्णयहरूलाई कार्यान्वयन गर्नेभन्दा केही अधिकार नै छैन । यस्तो केही पनि नभएको मान्छेहरूले, जसलाई कार्यसमितिले पनि ‘म्यान्डेट’ दिएको छैन र आज देश संक्रमणकालीन अवस्थामा छ, संविधानसभामा कांग्रेस पार्टीको भूमिका केही निर्वाह गर्न नसक्ने अनि गिरिजाबाबुको शवयात्रामा उहाँको शव राखेको ट्रकमा बसेकै कारणले त्रयनेता भनेको भए मलाई थाहा छैन । त्योबाहेक पार्टीले नेतृत्व दिनुपर्ने अवस्था छैन । नेपाली कांग्रेसको महाधिवेशनले जसलाई सभापति चुन्छ, त्यो नै सभापति हुन्छ । सभापतिको पनि अब हाम्रो पार्टीमा विशेषाधिकार नभएको हुनाले केन्द्रीय कार्यसमितिको निर्णयले पार्टी चल्छ । अहिले पार्टीभित्रको विभाजन हेर्ने हो भने सुशील कोइराला, रामचन्द्र पौडेल, प्रकाशमानसिंह आदिको एउटा समूह छ, त्यो समूहको कार्यवाहक सभापति सुशील कोइरालाले गर्नुभएको छ । शेरबहादुरजी, गोपालमानजी, बिमलेन्द्र जी आदिको समूहको शेरबहादुरजीले गर्नुहुन्छ । त्यसपछि केबीगुरुङ, म, विनयध्वज, सुनिल भण्डारी, लक्ष्मण घिमिरे, श्यामलाल श्रेष्ठ, प्रभुनारायण चौधरी, बलबहादुर राई आदिको समूहको नेतृत्व केबी गुरुङले गर्नुहुन्छ । एउटा समूहको नेतृत्व चिरञ्जीवी वाग्लेले गर्नुहुन्छ, एउटा समूहको नेतृत्व खुमबहादुरजीले गर्नुहुन्छ । एउटा समूहको नेतृत्व नरहरिजीले गर्नुहुन्छ । स्पष्टरूपमा ६ वटा समूहहरू क्रियाशील देखिन्छन् । या त ती समूहको १–१ जना राखेर छलफल र निर्णय गर्नुप¥यो । होइन भने जसलाई उनीहरूको समूहबाहेक अरुले त मान्ने भएन नि । यी ६ वटै समूहका ६ जना बसेर अनौपचारिक छलफल ग¥यो भने सबैका लागि मान्य होला । अहिले ३ जना भनेको दुईवटा समूह हो । सुशीलको एउटा समूह र शेरबहादुरको अर्को समूह बसेर गरेको निर्णय त कसैको लागि मान्य त हुँदै हुँदैन । यिनीहरू अलि उत्ताउलो पनि भएको हो । ० त्रयनेता भनेर किन प्रचार गरिँदैछ त ? – यिनीहरू आफैंले गरेका हुन्, हामीले त गरेका छैनौं । ० ६ वटा समूहका नेता बस्दा चाहिँ कुरो मिल्छ त ? – ६ समूहका ६ जना नेताको बराबरी हैसियत हो । त्यसको निर्णय कार्यसमितिमा ल्यायो भने त्यो मान्य होला । मेरो समूहमै यी तीनैजना पर्दैनन्, अनि मैले कहाँबाट मान्ने ? ० उसो भए त पार्टी ६ चिरामा बाँडियो, होइन ? – चिरा होइन, पार्टीभित्र त्यस्तो हुन्छ । त्यसै भएर कार्यसमितिको निर्णय हाम्रो लागि मान्य हुन्छ । विभिन्न विचार भएका मान्छेहरू त पार्टीमा हुन्छन् नि । हाम्रो र अरु सबैका बीचमा वैचारिक भिन्नता पनि छ । वास्तवमा बीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई लिएर हिँड्ने समूह नेपाली कांग्रेसमा हामीहरू मात्रै हौं । पार्टीले बीपीको लाइन छोडेको हुनाले गएको निर्वाचनमा पराजय भयो भन्ने हाम्रो दृष्टिकोण हो । माओवादीजस्तो उग्रवापमन्थी पार्टीसँग अनावश्यक रूपमा सहमति र सहकार्य गरेर कांग्रेसलाई धोका भयो भन्ने हाम्रो समूहको दृष्टिकोण हो । त्यसकारण हामी सैद्धान्तिक आधारमा संगठित भएका छौं । र, यो मुद्दालाई हामी आगामी महाधिवेशनमा पनि लिएर जान चाहन्छौं । ० यहीबीचमा यहाँहरूको समूह जिल्ला दौडाहामा पनि निस्कियो, होइन ? – हामी गयौं त, मोरङदेखि कञ्चनपुरसम्म गयौं । हाम्रो समूह भनेको भत्काउने समूह होइन । पार्टीको केन्द्रबाटै गल्ती भएको भन्ने कुरामा कार्यकर्तालाई हामीले विश्वस्त पा¥यौं । केन्द्रकै कारणले नेपाली कांग्रेसले पराजय भोग्नुप¥यो, हामीले कार्यकर्ताहरूको भावना बुझ्न सकेनौं, कार्यकर्तालाई समयमा सहयोग गर्न सकेनौं भनेर हामीले माफी पनि माग्यौं । अब कांग्रेसलाई एक बनाएर लैजानको लागि कांग्रेसको मान्छे बन्नुप¥यो । सुशील कोइरालाको मान्छे, शेरबहादुरको मान्छे होइन, नेपाली कांग्रेसको मान्छे बन्नुप¥यो, नेपाली कांग्रेसलाई बचाउनुप¥यो भनेर हामीले खुलेआम छलफल ग¥यौ । एकपटक फेरि कांग्रेस एक भएको कसरी देखाउने त्यसको खोजीमा हाम्रो समूह लागेको छ । आगामी महाधिवेशनमा हामीले पार्टीलाई हारजितको राजनीतिमा सीमित नगराइकन नेपाली कांग्रेस एक ढिक्का भएको छ भनेर कसरी देखाउने ? नेपाली कांग्रेसको नेतृत्वले गरेको निर्णयलाई मेरो पनि निर्णय हो भनेर हरेक कार्यकर्ताले मान्ने कसरी बनाउने ? भन्ने अभियानमा हामी लागेका छौं । त्यसैले हामीहरू विभाजन होइन, एकता र सहमतिमा अघि बढ्नुपर्छ । ० आगामी महाधिवेशन केबी गुरुङ सभापति र यहाँ महामन्त्री लड्ने अभियान स्वरूप देश दौडाहामा निस्किएको पनि भनिएको छ नि ? – त्यो त स्वाभाविक हो । केबी गुरुङ भनेको ०१७ सालअघिको ‘जेनेरेशन’ हो । यो पार्टी देखेका हामी सबै ०१७ सालपछिका ‘जेनेरेशन’ हौं । वरिष्ठताको हिसाबले, निरन्तरताको हिसाबले केबी गुरुङ २०३३ साल पुस ६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला नेपाल आउँदा त्यही अभियानमा उहाँ नेपाल आउनुभएको मान्छे हो, बीपी कोइरालासँगै । उहाँलाई त वास्तवमा सर्वसम्मत उम्मेदवार बनाइदियो भने राम्रो हुन्छ । होइन भने केबी गुरुङको पनि दाबी छैन । कोही मान्छे जो सर्वसम्मत हुनसक्छ, सबैको लागि मान्य हुनसक्छ, बलबहादुर राईजी हुनुहुन्छ । उहाँलाई सर्वसम्मतबाट सभापति बनाइदियो भने अरुले काम गर्दा हुन्छ । सर्वसम्मत बाटोहरू हामीले खोज्यौ भने मात्रै यो पार्टी चल्छ । हामी अहिले सर्वसम्मत उपाय हुनुपर्छ भन्ने अभियानमा छौं तर पार्टीको जिल्ला अधिवेशन समाप्त भइसकेपछि देशभरिका हामीलाई माया गर्ने, हाम्रो विचारधारासँग सहमत हुने साथीहरूसँग अनौपचारिक रूपमा छलफल गरिसकेपछि कुनै पदमा केबी गुरुङ उठ्नुहोला, म कुनै पदमा उठौला, साथीहरूले जे भन्छन्, नउठ् भन्लान्, नउठउँला । हाम्रो विचारधारालाई कसरी प्रस्तुत गर्ने भन्ने निर्णय जिल्ला अधिवेशनपछि हामी गर्छौं । ० सर्वसम्मत हुने अवस्था आउला त ? – होइन, त्याग त कसैले गर्नैपर्छ नि । केबी गुरुङ, बलबहादुर राई, लिला कोइराला हुनुहुन्छ, उहाँहरूको ठूलो योगदान छ । हामीले उहाँहरूलाई सर्वसम्मत बनाउन सक्छांै । अरू पनि कतिपय मान्छेहरू हुनसक्छन्, जुन मान्छेलाई हामीले सहमतिमा बनाउन सक्यौ भने राम्रो हुन्छ । दुईवटा बाटोमध्ये कुन रोज्ने ? हारजितको बाटो रोज्ने कि केही वर्ष सँगै हिँड्ने बाटो रोज्ने ? हारजितको बाटोले कांग्रेसलाई कल्याण गर्दैन भन्ने मलाई लाग्छ । त्यसैले सहमतिको बाटो खोजेर एउटा अवधिको लागि हामी जानुपर्छ भन्ने मलाई लाग्छ । ० शेरबहादुरजी बारम्बार भन्दै हुनुहुन्छ कि गिरिजाबाबुको उत्तराधिकारी म नै हुँ भनेर उहाँलाई केन्द्रीय समितिले नै उत्तराधिकारी बनाएको हो र ? – गिरिजाबाबुले दिएको भए त्यो त हामीलाई थाहा भएन, गिरिजाबाबुले हामीलाई भन्नुभएन । के–केको उत्तराधिकारी दिएको हो उहाँलाई, फेरि पनि उत्तराधिकारी भनेको धेरै चीज हुन्छ । हाम्रो पार्टीमा उत्तराधिकारीसम्बन्धी व्यवस्था छैन । गिरिजाबाबु सभापतिका कार्यसमितिका हामी सदस्यहरूले गिरिजाबाबु आफैंले महासमितिको बैठकमा सभापतीय पद्धतिलाई अवलम्बन गर्नुस्, भन्दा हामीले मानेनौं । हाम्रैअगाडि भनेको कुरा त हामीले मानेनौ भने अब हामीले नसुनिकन दिएको कुरा जो हाम्रो विधानमा पनि छैन, व्यवस्थामा पनि छैन । महाधिवेशनका प्रतिनिधिहरूले जसलाई सभापति बनाउँछन्, त्यो हाम्रो अगुवा हो । उसको पनि गिरिजाबाबुको जस्तो अधिकार हुँदैन । ० नेपाली कांग्रेसको महाधिवेशन कहिले होला त ? – वैशाखमा गर्ने, फागुनमा गर्ने भनेको त्यो भएन । भदौमा त दुईवटा कारणले गर्नैपर्छ । एउटा, हाम्रो विधानमा के छ भने सभापतिको पद कुनै कारणले रिक्त भएमा छ महिनाभित्र महाधिवेशन गर्नुपर्छ भन्ने छ । त्यसैले हामीले भदौमा महाधिवेशन गर्नैपर्छ । चाडै गरेको राम्रो हुन्थ्यो तर गर्नै सक्दैनन् । मलाई के लाग्छ भने अहिलेको पार्टीको जुन नेतृत्व छ, त्यसको क्षमताले महाधिवेशन गर्न सक्दैन कि । अहिलेसम्म नगरौ भन्ने नियत नै हो, उनीहरूको क्षमताले सबै झगडाको समाधान गरेर अधिवेशन गर्न सक्दैनन् कि । ० भनेपछि पदाधिकारीहरू असक्षम छन् भनेर बुझ्न सकिन्छ ? – यत्रो लथालिंग राखेको पार्टीमा गिरिजाबाबुको स्वर्गवास भएको एक हप्ता पनि नपुग्दै झगडा गर्छन् भने त्यसलाई कसरी मूल्यांकन गर्ने ? मैले मूल्यांकन गर्नु राम्रो हुँदैन । ० जिल्लाका सबै विवाद टुंगिसकेको हो ? – टुंगेको छैन । त्यो बाँकी नै छ र त्यसलाई टुंग्याउने कोशिष पनि भएको छैन । ० क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम के हुँदैछ ? – अनियमितताहरू भएका छन्, पार्टीको निर्णयविपरित भएका छन् । धेरै जिल्लामा पार्टी केन्द्रीय समितिको निर्णय विपरित भएको छ, त्यसलाई के गर्ने ? अहिले वितरण भएका क्रियाशील सदस्यताको अवस्था के छ भने केन्द्रीय समितिको निर्णयसँग दाजेर हेर्ने हो भने प्रायः सबै बदर हुने अवस्थामा छन् । त्यस कारण त्यसको बारेमा पनि निर्णय गर्नुपर्ने छ । क्रियाशील सदस्य भनेको त कांग्रेसको जग हो । त्यहाँ पनि भद्रगोल त गर्नुभएन नि । त्यहाँ कसरी भद्रगोल किसिमबाट बाँडिएको छ र त्यसर्ला वैधानिक किसिमबाट ल्याउने कोशिष भएको छैन । त्यहाँनेर अहिले जटिल समस्या देखापरेको छ । ० गिरिजाबाबु रहँदासमेत कांग्रेस एउटा गतिमा चलेको थियो, अब त त्यो स्थिति पनि नरहने भयो, होइन ? – गिरिजाबाबु सबैको सहारा हुनुहुन्थ्यो, एकताको प्रतिक हुनुहुन्थ्यो । गिरिजाबाबुले राम्रो गर्नुभयो, नराम्रो गर्नुभयो भनेर जति आलोचना गरे पनि आखिर उहाँ निर्णयकर्ता हुनुहुन्थ्यो । राम्रो भए पनि नभए पनि निर्णय हुन्थ्यो । अब निर्णय नहुने अवस्थामा पार्टी पुगेको छ । गिरिजाबाबुले जे गर्नुहुन्थ्यो, पार्टीको नाममा निर्णय गर्नुहुन्थ्यो । कसैले मान्थे, कसैले मान्दैनथे तर कार्यान्वयन हुन्थ्यो । अब हाम्रो पार्टीमा निर्णय हुन सक्दैन । बैठक बसे पनि हुँदैन, बैठक नबसे पनि हुँदै हुँदैन । ० अबका दिनमा कांग्रेस कसरी अगाडि बढ्छ त ? – अलि दिन पार्टीले केही निर्णय गर्दैन, गर्नै सक्दैन । त्यसपछि पार्टीमा एजेण्डा लिएर आउने, छलफल गर्ने, सहमतिमा निर्णय गर्ने, सहमति भएन भने ‘भोटिङ’ गरेर निर्णय ग¥यो भने कांग्रेसले निर्णय गर्न सक्छ । तर, त्यो अवस्थामा पुग्न कांग्रेसलाई अझै समय लाग्छ । केही दिन यो प्रक्रियामा कांग्रेस जाँदैन । ‘मैले भनेको हुनुपर्छ’ भन्ने त्यहाँ छलफल चलिरहन्छ । छलफल हुन्छ तर निर्णय हुँदैन र केही समय नेपाली कांग्रेस अन्यौलमा रहन्छ । ० अब त कांग्रेसको केन्द्रमै भद्रगोलको अवस्था देखिने भयो, होइन ? – केन्द्रमा भद्रगोल होइन, केन्द्रीय नेतृत्वमा भद्रगोल हो । जस्तो २५ गते बैठक थियो, फेरि सारियो । २५ गते हुन नसक्ने थियो भने किन बोलाएको ? २६ गते बैठक हुन्छ तर एजेण्डा आउँदैन, हेरिरहनुहोला । कार्यसमितिका टेलिफोनबाट खबर आउँछ, एजेण्डा केही हुँदैन । बिना एजेण्डाको बैठक त हामीले बोलाउ भनेको होइन नि । अब बिना एजेण्डाको बैठकले त निर्णय केही गर्दैन । केन्द्रीय नेतृत्वलाई व्यवस्थापनको ज्ञान नभएको हो । पार्टी सञ्चालन पद्दतिको बारेमा जानकारी नभएको हो । पार्टीको बैठक कसरी चलाउने भन्ने क्षमता पनि नभएको र ज्ञान पनि नभएको हो ।