गोविन्दराज जोशी
पृष्टभूमि
राजा महेन्द्रको २०१७ सालको अप्रजातान्त्रिक र अराष्ट्रिय कदमपछि नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरू पक्राउ पर्नुभयो भने सो समयमा सुवर्णसमशेर लगायतका नेताहरू भारतमा हुनुहुन्थो । कांग्रेसका सबै वरिष्ट नेताहरू पक्राउ परेपछि पार्टी अब कसरी अगाडि बड्छ भन्ने प्रश्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूका अगाडि थियो । यसै अवस्थामा भारत निर्वासनमा रहनुभएका नेपाली कांग्रेसका नेता सुवर्णसमशेरले नेपालमा प्रजातन्त्रको पुनःस्थापना गर्ने आन्दोलनको नेतृत्व पुनः एकपटक आफूले लिने निर्णय गर्नुभयो । यसै समयमा सुवर्णसमशेरले देशभित्र र देशबाहिर रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सम्मेलन २०१७ साल माघ १२ गते पटनाको गान्धीमैदान नजिक अन्जुमन इस्लामिया हलमा आयोजना गर्नुभएको थियो । २०१७ साल माघ १२ गतेदेखि १४ गतेसम्म भएको उक्त सम्मेलनले सुवर्णसमशेरलाई नेपाली कांग्रेसको कार्यकारि सभापति निर्वाचित गर्दै नेपालमा प्रजातन्त्रको पुनर्वहालीको लागि आन्दोलन गर्ने जिम्मेवारी दियो । यसरी सुवर्णसमशेरको अगुवाइमा सञ्चालन भएको आन्दालनले सफलता प्राप्त गरिरहेकै अवस्थामा राष्ट्रिय र अन्तराष्ट्रिय कारणले आन्दोलनमा प्रतिकूल प्रभाव परेको महसुस गरी नेपाली कांग्रेसका कार्यकारि सभापति सुवर्णसमशेर राणाले २०१९ साल कार्तिक २३ गते आन्दोलन स्थगित भएको वक्तव्य दिएर नेपालमा सञ्चालन भएको सशस्त्र आन्दोलन रोक्नुभयो । त्यतिबेला देशमा एकातिर नेपाली कांग्रेसका सभापति विश्वेवरप्रसाद कोइराला लगायतका नेताहरू जेलमा हुनुन्थ्यो भने अर्कोतिर देशभित्र रहेका कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि दमन चरम सीमामा बढिरहेको अवस्थामा भएको आन्दोलनको स्थगनले कार्यकर्ताहरूमा निराशा उत्पन्न भएको थियो ।
छात्र संघहरूको गठन
राजनैतिक गतिविधि प्रायः शून्य भएको यस अवस्थामा नेपालका विभिन्न भागबाट काठमाण्डौ आई अध्ययन गर्ने विद्यार्थीहरूले विभिन्न छात्र संगठनहरू स्थापना गर्न शुरू गरेका थिए । जनकपुरका विद्यार्थीहरूले गौरीशंकर छात्र समिति, यस्तै गण्डकी छात्र समिति, पश्चिम १ नं छात्र समिति, सुदूर पश्चिमाञ्चल छात्र समिति आदि छात्र समितिहरू गठन भएका थिए । कलेजहरूमा पनि विस्तारै छात्र संगठनहरूको गठन र निर्वाचन हुन थालेको थियो । वि. सं. २०२३ सालमा नुवाकोट, धादिङ्ग, रसुवा जिल्ला समेटेर गठन भएको पश्चिम १ नं. छात्र समितिमा मछेन्द्रनाथ पाठक संलग्न हुनुभएको र म पनि गण्डकी छात्र समितिसँग आवद्ध रहेको हुँदा उहाँको र मेरो चिनाजानी २०२२ र०२३ सालतिर भएको थियो । पञ्चायतको चरम उत्कर्षको बेला पञ्चायत विरोधि गतिविधि विद्यार्थी आन्दोलनको नाममा शुरू हुन लागेको अवस्थामा मछेन्द्रजीसँगको सम्बन्ध र सम्पर्कका बारेमा घटेका घटनाहरू अहिले पनि मेरो स्मरणमा रहिरहेका छन् ।
मच्छेन्द्रनाथ पाठक र विद्यार्थी राजनिति
तत्कालीन राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रको अपहरण गरेपछि केही समय सुवर्णसमशेरको अगुवाइमा भएको सशस्त्र आन्दोलन स्थगित भएपछि प्रजातन्त्रको पुनस्थापनाको जिम्मेवारी विद्यार्थीहरूको काँधमा आइप¥यो । एकातिर विद्यार्थीहरू विभिन्न छात्र संघको नाममा संगठित हुदै थिए भने अर्कोतिर कलेजहरूमा विद्यार्थी युनियनको निर्वाचन गर्दै विभिन्न आन्दोलनको आयोजना गर्दे क्रियाशील हुदै थिए । २०२६ सालसम्म आइपुग्दा विद्यार्थी आन्दोलनहरूले देशमा प्रभाव पारिसकेको थियो । मच्छेन्द्रनाथ पाठक पश्चिम १ नं. छात्र समिति ( वि. सं. २०२३ नुवाकोट, धादिङ, रसुवा जिल्ला समेटेर बनाइएको) को सदस्य हुनुहुन्थो । उहाँ सरस्वती कलेजको स्ववियु सभापति (वि. सं.२०२६) र नुवाकोट जिल्ला नेविसंघ शाखा कार्यसमिति (वि.सं.२०२८) का सदस्य र वि. सं. २०२७ सालमा गठित नेविसंघको संस्थापक उपाध्यक्ष (मध्यमाञ्चल) हुनुहुन्थ्यो । नेविसंघका संस्थापक अध्यक्षको गिरफ्तारीपछि कार्यवाहक अध्यक्षको हैसियतले उहाँले काम गर्नु भएको र (वि. सं. २०२७ ) मछेन्द्रनाथ पाठक नेविसंघको दोस्रो कार्यकाल (वि. सं. २०२८) मा गठित सल्लाहकार परिषद् सदस्यमा मनोनयन हुनुभएको थियो । उहाँ २०२९ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापति हुनुभएको थियो । यसरी विद्यार्थी जीवनमा उहाँले नेपालको राजनितिमा प्रभावकारी भूमिका निर्वाह गरिसक्नुभएको थियो ।
नेपाली कांग्रेस र मछेन्द्रनाथ पाठक
मछेन्द्रनाथ पाठक नेपाली कांग्रेसका एक सशक्त नेता हुनुहुन्थ्यो । २०१७ सालपछि देशमा राजाको क्रूर शासन चलेको हुँदा पार्टी गतिविधि सञ्चालन गर्नु सहज थिएन । त्यसैले विद्यार्थी आन्दोलनको नामबाट पञ्चायत विरोधी गतिविधि सञ्चालन भइरहेको थियो । वीपी कोइराला जेलबाट छुटेर भारत गएपछि पार्टी ंगठनमा ध्यान दिनुभयो । विस्तारै निर्वासनमै रहेर तरुणदलको नामबाट शुरू भएको नेपाली कांग्रेसको संगठनले पार्टीले संगठनको स्वरूप लिदै गयो । विस्तारै बनारसबाटै पार्टीको संगठन निर्माण हुँदै गयो । २०३३ साल पौष १६ गते वीपी कोइराला राष्ट्रिय मेलमिलापको नारा दिएर नेपाल फर्केपछि गिरिजाप्रसाद कोइरालाले पटनामा एउटा भेला बोलाउनुभयो । त्यही भेलाको निर्णयपछि नेपालभित्र शुरूमा गोप्य रूपमा र पछि क्रमश खुल्ला हुँदै देशका सबै जिल्लामा नेपाली कांग्रेसको संगठन निर्माण हुँदैगयो । यसै सन्दर्भमा मछेन्द्रनाथ पाठक नेपाली कांग्रेस नुवाकोटको सभापति हुनुभयो । उहाँ मृत्यु पर्यन्त अर्थात् २०३९ सालसम्म नुवाकोट जिल्लाको नेपाली कांग्रेसको सभापति रहनुभयो । नेपाली कांग्रेस नुवाकोटको सभापति हुँदाहुँदै समग्रमा नेपाली कांग्रेसको संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका पाठकले निर्वाह गर्नुभएको थियोे । उहाँको सक्रियताले उहाँलाई राजनीतिमा अगाडि बढाइरहेको थियो । विद्यार्थी जीवनमा पटकपटक जेल जीवन बिताउनुभएका पाठक एक संघर्षशील व्यक्ति हुनुुहन्थ्यो । विद्यार्थी जीवनदेखि नै उहाँ वि.सं.२०२७ सालको नेविसंघको स्थापनाको आन्दोलनमा गरिफ्तार हुनुभई जेलमा रहनुभएको थियो । वि.सं.२०२९–२०३२ सालसम्म लगातार तीन वर्ष त्रिविवि स्ववियु सभापति हँुदा उहाँ जेलमा हुनुहुन्थ्यो । उहाँ वि.सं.२०३३ सालमा वीपी कोइरालाको स्वदेश फिर्तीका क्रममा र वि.सं.२०३६ सालको विद्यार्थी आन्दोलनमा उहाँ गिरफ्तार हुनुभएको थियो । यसरी उहाँले आफ्ने जीवन संघर्षमा बिताउनुभएको देखिन्छ ।
सरल र मिलनसार व्यक्ति
नुवाकोटको थानसिंमा २००३ साल मार्ग महिनामा जन्मनुभएका मछेन्द्रनाथ पाटक सरल र मिलनसार हुनुहुन्थो । उहाँ सबैसँग मिल्न सक्ने र कसैलाई नचिडाउने व्यक्ति भएकोले उहाँ सबैका लागि प्रिय पात्र हुनुहुन्थ्यो । त्यस्तो कठिन अवस्थामा पनि उहाँ कहिल्यै हतास देखिनुहुदैनथ्यो । उहाँ जस्ता व्यक्तिकै कारण विस्तारै तत्कालीन समयमा कांग्रेस जुरमुराउदै अगाडि बडिरहेको थियो । त्यतिबेला कांग्रेसमा लागेर राजनीति गर्नु सहज थिएन । एकातिर ज्यान जाने खतरा थियो भने अर्कोतिर दैनिकी चलाउने समस्या पनि त्यत्तिकै थियो । यति हुँदा हुँदै पनि निरन्तर प्रजातन्त्रको पुनस्थापनाको लागि लडिरहने पाठकजस्ता नेता भएका कारण नै नेपाली कांग्रेस पार्टीले गति लिएको हो । यसरीे मछेन्द्रनाथ पाठक सरल, मिलनसार र प्रतिवद्ध नेताको रूपमा चिनिनुहुन्थ्यो ।
.अन्त्यमा
मछेन्द्रनाथ पाठक आज हामी माझ हुनुहुन्न । आज कांग्रेसमा नेतृत्वको अभाव खड्किएको छ, भनिन्छ । २०१७ सालको प्रजातन्त्रको अपहरणले केवल देशलाई मात्र कमजोर पारेन सरोज कोइरालादेखि दिवान सिंह राईसम्म, योगेन्द्रमान सेरचनदेखि जगत्प्रकाश जङ्ग शाहसम्म, क्या.यज्ञबहादुर थापादेखि भीमनारायण श्रेष्ठसम्म, राम र लक्ष्मणदेखि लीला–ठगी दाहालसम्म, दुर्गानन्द झादेखि तेजबहादुर अमात्यसम्म र अन्य दर्जनौ नेपाली कांग्रेसका नेताहरू या त मारिए या त जेलमा सडाएर अपाङ्ग बनाइए । यो अपुरणीय क्षति देशकै लापग ठूलो दुर्भाग्य हो । जसले गर्दा कांग्रेसलाई मात्र होइन देशलाई ठूलो नोक्सान भयो । त्यतिबेला देशमा प्रजातन्त्र भएको भए सायद मछेन्द्रनाथ पाठकको पनि अल्पायुमै स्वर्गारोहण हुने थिएन होला । आजको यस क्षणमा हामी उहाँलाई के दिन सक्दछौ र केवल श्रद्धान्जलीका दुई शब्द मात्र । स्व. मछेन्द्रनाथ पाठकप्रति हार्दिक श्रद्धान्जली । जय नेपाल ।
(लेखक नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री हुनुहुन्छ ।)