पत्रकारमाथि चौतर्फि आक्रमण भैरहँदा पनि राज्य मौन रहेको पत्रकारहरुको आरोप पवन पौडेल तनहुँ जेठ २२ , नेपाल प्रेस युनियन तनहूँ शाखाको पाँचौ अधिवेशनले डम्बर बहादुर अधिकारीको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत कार्यसमिति चयन गरेको छ नवगठित कार्यसमितिको उपाध्यक्षमा ओमकार आचार्य,सचिवमा पवन पौडेल,कोषाध्यक्षमा शिवा आले रहनुभएको छ । त्यसैगरी,सदस्यहरुमा रामकृष्ण सापकोटा,रमेश विकल,दिल वहादुर दरै,अमृत सुवेदी,राजिवलाल श्रेष्ठ,अन्जना पौडेल र सृजना राना रहनुभएको छ । यसैगरी,अधिवेशनबाट १६ जना केन्द्रिय पार्षदमा निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनको उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्दराज जोशीले १२ बुदे सहमतिमा हस्ताक्षर गरिएका कुरा पुरा नहुन्जेलसम्म माओवादीलाई विश्वास गर्न नसकिने बताउनुभएको छ ।म ाओवादी नागरिक पार्टिमा रुपान्तर हुने विश्वास कसैलाई नभएको भन्दै सो नहुँदा सम्म माओवादीको नेतृत्वमा नयाँ सरकार गठनको कुनै सम्भावना नरहेको जोशीले ठोकुवा गर्नुभयो ।
अहिले संविधानसभाको म्याद थप्ने बिषयमा ३ दलबिच भएको सहमतिलाई विश्वमै उच्चस्तरको जालसाँझिको दस्तावेज भएको उहाँले उल्लेख गर्नु भयो । सबैले आँफुले जितेको भनेर जनतामा प्रचार गरेको र आँफुअनुकुल व्याख्या गर्न सहज भएकाले ३ दल यो सहमति हो भन्ने उहाँको भनाई थियो । कार्यक्रममा संविधान सभाका सभासद पार्वती थापाले जनताको अधिकारको कुरा जनसमक्ष पुर्याउन नदिन पत्रकारमाथि सुनियोजित आक्रमण हुने गरेको आरोप लगाउनुभयो ।कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका कार्यवाहक सभापति दामोदर प्रसाद दुवाडीले संविधान बनाउने वातावरण निर्माणका लागि युनियनले चौतर्फि दबाव दिंदै आएको बताउनुभयो ।उहाँले राजाको शासनकाल र माओवादी शासनकालभन्दा बढी अहिले पत्रकार राज्यबाट पीडित भएको बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष भीष्मराज ओझाले कांग्रेस सरकारमा रहेपनि कांग्रेसी पत्रकारहरु राज्यबाटै पीडित भैरहँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको आरोप लगाउनुभयो । नेपाल प्रेस युनियनका महासचिव विन्दुकान्त घिमिरेले कांग्रेसकै पालामा श्रमजीवि ऐन बनेपनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै अहिले बनेको ऐन पनि कार्यान्वयन गर्न नदिइएको बताउनुभयो ।
नेपाल प्रेस युनियनका सचिव शिव लम्सालले सरकारी संचारमाध्यमका पत्रकारहरु संचारमन्त्रीबाट पीडित रहेको भन्दै एउटै सन्चारमाध्यममा २ भन्दा बढी आफ्नो पक्षका जिल्ला समाचारदाता नियुक्त गरिंदा तीनले रोजगारी गुमाएको बताउनुभयो । यसलाई रोक्न कांग्रेसले पहल नगरे आँफुहरुले शसक्त आवाज उठाउने उहाँले चेतावनी दिनुभयो । निवर्तमान सभापति ऋषिराम पोख्रेलको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा बोल्दै नेपाल प्रेस युनियनका पुर्वसभापति कुलचन्द्र वाग्ले,नेपाल तरुण दलका महासचिव पुष्पराज पराजुली,नेपाली कांग्रेस तनहुँका उपसभापति मोतिकुमार श्रेष्ठ,नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद गौतम,नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति उदयराज गौली लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन निवर्तमान सचिव पुष्पराज आचार्यले गर्नुभएको थियो । यसैबिच, नवनिर्वाचित कार्यसमितिको बैठक अध्यक्ष डम्बर अधिकारीको सभापत्विमा सम्पन्न भएको छ ।बैठकले अघिल्लो कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्ने,कार्यक्रममा उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्ने र महिनाको पहिलो शनिबार विहान ११ बजे नियमित बैठक बस्ने निर्णय गरेको सचिव पवन पौडेलले जानकारी दिनुभयो ।