स्व.हरिशरण शर्मा तनहूँ जिल्लाको लागि मात्र नभई शिक्षा क्षेत्रमा चासो राख्ने र नेपाली काँग्रेसका शुभचिन्तकहरुको लागि अपरिचित नाम होइन। उहाँको प्रायःजसो जीवन शिक्षा क्षेत्रको विकासमा बिते पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा र तनहूँ काँग्रेसको संगठन सुदृढ गर्ने तथा समाज सेवाका क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण रहेको छ। २००७ सालमा प्रजातन्त्रको प्राप्ति पछिका दिनहरुमा नेपाली काँग्रेसका नेता श्रीभद्र शर्मा खनालको निकट रहेको कारणले उहाँ नेपाली काँग्रेससँग आवद्ध हुुनुभएको हुनसक्छ। यद्यपि तनहूँको स्याम्घा गाउँ काँग्रेसका लागि उर्वरभूमि हो। स्याम्घामा जन्मेका जोसुकैलाई पनि कसैको प्रभावमा परिएको मानिएता पनि वास्तविक रुपमा जन्मसिद्ध नै कांग्रेसप्रति त्यहाँका दाजुभाई दिदीवहिनीहरु नेपाली काँग्रेसप्रति समर्पित छन्। हरिशरण शर्मा पनि तिनै मध्येको एक नाम हो, जसले जहाँ रहेर पनि र जे गर्दा पनि प्रजातन्त्रप्रति प्रतिवद्धता र नेपाली काँग्रेसप्रति निष्ठा देखाइरहनुभयो। आज म उहाँको पु48यतिथिको अवसरमा प्रकाशित हुन लागेको स्मारिकामा मेरो व्यक्तिगत तथा नेपाली काँग्रेसको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। विद्यमान अवस्थामा उहाँलाई स्मरण गर्दा उहँाको जीवनमा उहाँले दिनुभएको योगदान मध्ये तनहँू जिल्लामा उहँाले प्रजातन्त्र र शिक्षा क्षेत्रमा दिनुभएको योगदानलाई उल्लेख गर्न मैले उचित सम्झेको छु। तनहूँ जिल्ला अहिले शिक्षाको क्षेत्रमा अत्यन्तै अगाडि मानिन्छ। तापनि केहि दशक अघिसम्म त्यहाँका मानिसहरुका निम्ति शिक्षा प्राप्त गर्न काठमाडौं वा बनारस जानुपर्थ्यो। धेरै मानिसहरुले काठमाडांैबाट संस्कृत शिक्षा हासिल गर्ने र यदाकदा संस्कृत शिक्षा बाहेक अन्य विषयमा शिक्षा हासिल गर्ने कुरा मैले उल्लेख गरिरहनु पर्दैन। त्यसो त तनहूँबाट विभिन्न ठाउँमा गएर उच्च शिक्षा हासिल गरी नेपाली समाजमा अग्रणी स्थान प्राप्त गर्नेको संख्या पनि कम थिएन। स्व. हरिशरण शर्मा पनि अंग्रेजी, संस्कृत र नेपाली भाषाका त्यहि पंक्तिमा पर्ने एक प्रतिष्ठित विद्धान हुनुहुन्थ्यो। २०१७ सालको राजनीतिक परिवर्तनपछि जब देशमा जनताका सबै किसिमका अधिकारहरु समप्त गरिए तब शिक्षा प्राप्त गर्नका लागि तनहँूबासीको लागि दुर्लभको कुरा थियो। तनहँू जिल्लामा यदाकदा भाषा पाठशाला र क्रमशः प्राथमिक विद्यालयहरु जिल्लाका विभिन्न ठाऊँमा स्थापित भए पनि माध्यामिक शिक्षा प्राप्त गर्न भने त्यतिबेला तनहूँको सदरमुकाम भानु माध्यामिक विद्यालय बन्दीपुर जानुपर्थ्यो। चुँदीखोला आदिकवि भानुभक्तको जन्मस्थल भएको र स्व. रामप्रसाद खनाल र ज्ञानहरी पण्डित जस्ता कैयौं शिक्षासेवीहरु त्यसै ठाऊँमा जन्मे हुर्केको हुनाले चुँदी खोलामा शिक्षाको प्रभाव पर्नु अस्वाभाविक थिएन। त्यसै कारणले हुन सक्छ, चुँदी खोला वरपरका शिक्षा प्रेमीले चन्द्रावती र टुहुरेपसलमा चन्द्रावती माध्यामिक विद्यालय संचालन गर्न सुरु गरे। स्व.हरिशरण शर्माले त्यस विद्यालयको प्रधानाध्यापक भएर शैक्षिक जागरण गर्ने काममा आफूलाई समर्पित गर्नुभयो। त्यतिबेला स्नातक गरेको शिक्षक पाउनु कुनै पनि विद्यालयको लागि सहज थिएन। त्यसमा पनि स्व.हरिशरण शर्मा जस्तो अंग्रेजी, संस्कृत र नेपाली भाषामा दखल भएका शिक्षकहरु उपलब्ध हुनु त दुर्लभ नै थियो। २०१७ सालपछि काँग्रेस जनहरुले एकै साथ पञ्चायत समर्थक र वामपन्थीहरुको मार खेप्नु पर्थ्याे। राजदरबारमा अत्यन्तै प्रभाव रहेको श्री ५ का तत्कालीन प्रमुख सचिव रेवतिरमण खनालको छत्रछायाँमा र स्व. अधिराजकुमारी प्रिन्सेप शाह को नेतृत्वमा रहेको रेडक्रस सोसाइटीमा काम गर्ने केही व्यक्तिहरुको प्रभाव र निर्देशनमा चुँदी खोलामा वामपन्थीहरुको प्रभाव दिन प्रतिदिन बढ्दैथियो। स्व.हरिशरण शर्मा काँग्रेसका चिनिने समर्थकको रुपमा रहेको हुँदा त्यतिबेलाका पञ्चहरुको त उहाँलाई समर्थन हुने कुरै भएन। यसरी गाउँमा रहेर निर्धन र निमुखा जनताको सेवा गर्नु पनि काँग्रेसको लागि सहज र स्वभाविक थिएन। स्व.हरिशरण शर्मा वामपन्थी र पञ्चायतवादीहरुको संयुक्त तारो बन्नुभयो र चन्द्रावती माध्यामिक विद्यालयबाट उहाँ बाहिरिन बाध्य हुनुपर्यो। चन्द्रावती माध्यामिक विद्यालयको प्रधानध्यापक हँुदा शिक्षा क्षेत्रमा उहाँको लोकप्रियता त्यस क्षेत्रको वरपर फैलिएको थियो। जब तनहूँ र लमजुङमा विस्तारै माध्यामिक विद्यालयहरु संचालन हुदैगए र उहाँको आवश्यकता वरपरका विद्यालयहरुले महसुस गरी अध्यापनको लागि उहाँलाई आमन्त्रण गर्न थाले। यही सन्दर्भमा उहाँले लम्जुङ जिल्ल्ााको वीरभक्ति माध्यामिक विद्यालयमा पुनः प्रधानाध्यापक भएर अध्यापन गर्न सुरु गर्नुभयो। मैले माथि नै भने कि उहाँ संस्कृतको पनि विद्वान भएको कारणले समाजका विभिन्न क्षेत्रमा उहाँको प्रभाव त थियो नै, विद्यार्थीहरुमा पनि उहाँ मिलनसार हुनुहुन्थ्यो। पढाउने काम बाहेक विद्यार्थीहरुसँगै भलिबल टिम लिएर जाने, अन्य शैक्षिक भ्रमणहरुमा विद्यार्थीहरुसँग साथसाथै रहनेकारणले र विद्यार्थीहरुको व्यक्तिगत समस्यामा चासो दिई विद्यार्थीहरुको हेरविचार गर्ने बानीले उहाँ विद्यार्थीहरुको बीच निकै लोकप्रिय हुनुहुन्थ्यो। उहाँले जहाँ अध्यापन गर्नुभयो, त्यस विद्यालयको शैक्षिक प्रभाव राम्रो थियो। सायद उहाँका चेलाहरुले आज नेपालका विभिन्न उच्च निकाय र विभिन्न क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेको हुनु पर्दछ। यो उहाँकै योगदानको एउटा महत्वपूर्ण कडी र परिणाम हो। स्व.हरिशरण शर्मा अत्यन्तै सरल मिजासको हुनुहुन्थ्यो। उहाँ लगाउने तथा खाने कुरामा साधारण देखिनुहुन्थ्यो। उहाँले तडकभडकको जीवन बिताएको मलाई थाहा छैन। हुन त मानिसको मूल्यांकन बाँचिरहँदा गर्न सकिंदो रहेनछ। जतिसुकै इमान्दार, जतिसुकै समाजसेवी र जतिसुकै दयालु भए पनि जीवनभर उसलाई लखट्ने र दुःख दिने मानिसको चरित्र हुँदोरहेछ। स्व.हरिशरण शर्मा त्यस्तै दुःख पाउनेहरु मध्येको एउटा नाम हो। आज उहाँ हामिहरुको बीचमा हुनुहुन्न, तर उहाँले हाम्रो समाजमा धेरै कुराहरु छोडेर जानुभएको छ। उहाँले नेपाली समाजमा धेरै ठूलो योगदान दिनुभएको छ। शिक्षा क्षेत्रमा अविश्मरणीय प्रभाव राख्नुभएको छ। हामीले उहाँलाई स्मरण गर्दा उहाँका जीवनका यिनै राम्रै पक्षहरुलाई स्मरण र अनुकरण गर्न सक्यौं भने हामीले पनि हामि बसेको समाजमा केही योगदान पुर्याउन सक्छौं र केही पु48य गर्न सक्छौं । त्यसैले आज उहाँको पु48यतिथिको अवसरमा उहाँले अवलम्बन गरेको समाजसेवाको बाटो, उहाँले शिक्षा क्षेत्रमा गर्नुभएको योगदान र अवलम्बन गरेको बाटो अवलम्बन गर्न सक्यौं भने उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई विश्वास छ। अन्त्यमा उहाँ र म धेरै समयसम्म एक अर्काको छिमेकी विद्यालयको प्रधानाध्यापक भएर रह्यौं। एउटै परिस्थितिमा काम गर्नु परेको हुँदा केही भए पनि दुःखसुख साटासाट भयो। कठिन परिस्थतिमा एक अर्काको सहयोगी भएर रह्यौं। आज उहाँ हाम्रो माझ हुनुहुन्न। उहाँले छोडेर जानुभएका छापहरु अहिले पनि मेरा स्मरणमा झलझलि आइरहेका छन्। एउटा अभिन्न मित्रको हैसियतले म व्यक्तिगत रुपमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु। अस्तु ।