काँग्रेसको सैद्धान्तिक विचलन विरुद्धको अभियान नै मेरो उम्मेदवारी हो, जागिर खानका लागि होइनः जोशी

तनहुँ क्षत्र नं.१.का जनता–मतदाताको माग अनुसार अभिभाकत्व ग्रहण गर्दै मंसिर २१ मा सम्पन्न हुने संघिय संसद्को निर्वाचनमा उम्मेदवारी दिनलागेका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्द राज जोशीको आधिकारीकताको विषयमा विभिन्न तर्क वितर्क छलफल र वहस चलिरहेका बेला स्वयं जोशीको दृष्टिकोण बुझ्न  तनहुँ आवाजका सहसम्पादक रमेश विकलले गर्नु भएको कुराकानीको सम्पादित अंश ।
साप्ताहिकः काँग्रेस भित्रका एक कुशल संगठकको पहिचान बनाएका तपाईका अगाडि नेपाली काँग्रेसलाई एक्ल्याउने गरी वाम गठबन्धन भएका बेला काँग्रेसभित्रै देखिएको ध्रुवीकरणलाई यहाँले कसरी हेरी रहनु भएको छ ?
जोशीः
 यो धुव्रीकरण ठीक होइन । वास्तवमा नेपाली काँग्रेसले वि.पि.को सिद्धान्त अनुसार राष्ट्रवादी र प्रजातन्त्रवादीहरुसंग सिद्धान्तको लागि ध्रुवीकरण हुन सक्ने कुराको संकेत गर्नुभएको थियो । अहिलेको नेपाली काँग्रेसको नेतृत्व सत्ता र स्वार्थका लागि ध्रुवीकरण गर्दैछ । यतिबेला नेपाली काँग्रेस कहिले उग्र वामपन्थीसंग त कहिले उग्रदक्षिणपन्थीसंग केवल सत्ताप्राप्तिका लागि ध्रुवीकरणको बाटोमा हिड्नु स्वभाविक पनि होइन । नेपाली काँग्रेसको सन्दर्भमा यो उपयोगि पनि हुँदैन । वामगठनबन्धन किन भयो त्यो उनिहरुको कुरा हो । तर नेपाली काँग्रेसले प्रतिक्रिया स्वरुप जुन किसिमबाट गठबन्धन गर्न खोजेको छ यसले नेपाली काँग्रेस यो निर्वाचनमा पक्कै कमजोर हुन्छ । अझ दुरगामि रुपमा देश प्रजातन्त्र र नेपाली काँग्रेसलाई यसले फाईदा गर्दैन ।
 
साप्ताहिकः गठबन्धनले काँग्रेस कमजोर हुन्छ भनेर पार्टीको निर्णय जे भएपनि यहाँले म उम्मेदवार बन्छु भनिरहँदा तपाईको स्कूलिङ्गमा संगठित तनहुँका काँग्रेस तथा देशभरका काँग्रेस कार्यकर्तालाई यहाँको सन्देश के छ ?
जोशीः
 म जननायक वि.पि. कोइरालाको समयदेखि उहाँसंगै रहेर काम गरेको मान्छे । तनहुँमा नेपाली काँग्रेसको संगठन निर्माणको कुरा गर्नुहुन्छ भने पूर्णतया मेरो नेतृत्वमा २०२५ सालदेखि भएको हो । र निहित स्वार्थका आधारमा अहिले मलाई विना तर्क विना कारण राष्ट्रिय राजनीतिबाट हटाउने प्रयत्न विगत दश बर्षदेखि हुँदै आएको छ । २०६४ को संविधान सभाको निर्वाचनमा मलाई काँग्रेसकै जिल्ला र केन्द्रिय नेतृत्वमा समेत रहेका व्यक्तिले बागी उम्मेदवार उठाएर अनि माओवादीसंग गठबन्धन गरेर हराउने काम भयो । दोश्रो संविधान सभा निर्वाचनमा मलाई समानुपातिकमा पनि ल्याइएन । त्यसैले अहिलेको उम्मेदवारी मेरो बाध्यता हो । तनहुँ काँग्रेसका थुप्रै कार्यकर्ताले आफूलाई अभिभावक विहिन सम्झेको वर्तमान अवस्थामा मेरो इच्छाले भन्दा पनि आमसाथीहरुको भावनालाई आत्मसाथ गर्दै यो निर्णय लिएको हूँ । अहिले तनहुँ काँग्रेसको नेतृत्व गरिरहनु भएका साथीहरुले आमकाँग्रेसजनलाई समेट्न सक्नु भएन । तपाईले केही अघि देखिहाल्नु भयो, सात आठ हजार कार्यकर्ताहरुको भेलाले मलाई आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरेको छ । निर्वाचन कानुनी कुरा होइन । राजनैतिक कुरा हो । केन्द्रबाट कसैले टिकट ल्याउनु भो रे, टिकटमा नाम भएकै आधारमा कार्यकर्ताका भावना विपरित गएर समस्याको समाधान हुँदैन । म तनहुँ जिल्लाको नेपाली काँग्रेसको आधिकारीक उम्मेदवार हूँ र मेरो विरुद्ध उठ्ने व्यक्ति बागी हो । अब तनहुँका काँग्रेस कार्यकर्ता, मतदाताले गोविन्दराज जोशी र अर्को तिर विद्रोही उम्मेदवार चाहे रामचन्द्र पौडेल हुन् वा अरु कुनै । दुई जनामध्ये एउटालाई छान्नु पर्ने बेला आएको छ । मलाई के विश्वास छ भने नेपाली काँग्रेसका श्ुभेच्छुक शुभचिन्तक मतदाता एवं कार्यकर्ताले मलाई नै छान्नु हुन्छ । किनभने उहाँहरुकै दवाव र अनुरोधमा मैले उम्मेदवारी दिएको हूँ । वास्तवमा भन्ने हो भने यो उम्मेदवारी मैले दिएको होइन । तनहुँ निर्वाचन क्षेत्र १ का काँग्रेस कार्यकर्ता मतदाताले दिएको हो ।
साप्ताहिकः क्षेत्रीय समिति र स्थानीय कार्यकर्ताको समर्थन गोविन्दराज जोशीलाई तर केन्द्रको समर्थन अरु कसैलाई हुन सक्ने आकँलनका बीच आफूलाई आधिकारीक उम्मेदवार पुष्टि गर्ने आधार यहाँसंग के छन् ?
जोशीः
 मैले अघि पनि भने सात हजार कार्यकर्ताले तँ हाम्रो सर्वसम्मत उम्मेदवार हो भनेर निर्णय गरिसकेपछि त्यो भन्दा बढी आधिकारीता के चाहिन्छ ? केन्द्रमा भागबण्डा छ र त्यो भागबण्डमा नपर्दैमा म आधाकारिक नहुने भन्ने त हुँदैन । म फेरी पनि दोहो¥याउँछु यो कानूनी कुरा होइन । यो राजनैतिक कुरा हो । जब सम्बन्धित निर्वाचन क्षेत्रका हजारौं कार्यकर्ताले मलाई आधिकारी उम्मेदवार भनि भेलाबाट घोषणा गर्दछन् भने केन्द्रबाट टिकट कस्ले ल्यायो, वा त्यहाँ नाम कस्को छ भन्ने कुरा त गौण हुन्छ । मत दिने मतदाताको भेलाले रोजेको उम्मेदवार हुँदा म नै आधिकारीक हो, मेरो विरुद्धमा उठ्ने उम्मेदवार नै विद्रोही हो । मलाई विश्वास छ क्षेत्र नं. १ का मतदाता आफैले रोजको आधिकारीक उम्मेदवार म गोविन्दराज जोशीलाई  मतदान गर्नुहुन्छ ।
साप्ताहिकः थुप्रै कार्यकर्ताको समर्थन रहेको कुरा त भयो, तर यो कानूनी नभै राजनैतिक प्रश्न हो भन्ने कुरा आममतदाताले नबुझ्न सक्दछन् । तिनीहरुलाई आफू नेपाली काँग्रेसको आधिकारीक उम्मेदवार भएको कसरी बुझाउनु हुन्छ ?
जोशीः
 म गाउँ गाउँ जान्छु, मेरो घोषणा पत्र हुन्छ । त्यसमा म किन चुनाव लड्दै छु भन्ने कुरा पुष्टि हुन्छ । त्यस बाहेक मेरा साथीहरु पनि गाउँ गाउँ पुगेर मेरा कुरा बुझाउनु हुन्छ । यहाँलाई सम्झाउँ गोरखा क्षेत्र नं. २ मा काँग्रेस कार्यकर्ताले रुख चिन्हमा मतदान गर्न नपाउने, मकवानपुरमा गाई चिन्हमा मतदान गर्नु पर्ने, अन्यथा कारवाही हुने, म्याग्दीमा त्यस्तै छ । यी त केही उदाहरण मात्र हुन् । त्यसो भए काँग्रेस, काँग्रेसको सिद्धान्त कहाँ रह्यो र ? स्थानीय तह निर्वाचनमा चितवनमा काँग्रेस कार्यकर्ताले हसिया हथौडामा भोट नहाल्दा, अनि हाम्रै शुक्लागण्डकी न.पा.को उपमेयरकाका लागि हसिया हथौडामा भोट नहाल्दा कारवाहीको भागिदार हुनु पर्दथ्यो । त्यसैले रुखको अस्तित्व काँग्रेस नेताले राखेनन् । रुख बोक्नु काँग्रेसको मूल्य मान्यता र आर्दशका लागि भएन, देखिएन, आफ्नो स्वार्थ पूर्तिका लागि कसैले रुख बोकेर आउला, तर त्यो त स्वार्थका लागि भयो, स्थानीय तहको निर्वाचनमा त रुखको महत्व राखिएन । यो निर्वाचनमा पनि आफू अनूकूल हुने ठाउँमा रुख भन्ने नभए गाई, सूर्य, हसिया हथौडा जे पनि भन्ने, रोज्ने । त्यसो भए तनहुँको क्षेत्र नं. १ मा मात्रै रुखको कुरा हुन्छ ? यहाँ त ५५ बर्षदेखि काँग्रेसको मूल्य, मान्यता र आदर्श नछोडेर राजनीति गर्दै आएको व्यक्ति गोविन्दराज जोशी चुनावी मैदानमा छ । अनि चुनाव चिन्ह रुख भए गोविन्दराज जोशी आधिकारीक, नभए होइन भन्ने हुन्छ ? मेरो परिचय नै काँग्रेस हो । रामचन्द्र पौडेल जी त म भन्दा पछि २०३५ सालमा यहाँ आएर राजनीति थाल्नु भएको हो । नेताहरुले रुखलाई मात्रै होइन, काँग्रेसको आर्दश र सिद्धान्तलाई नै गौण बनाएर सत्तास्वार्थमा लागेका कारण मैले यो अभियान चालेको हूँ । देशभरिका काँग्रेस कार्यकर्ता समस्यामा छन् । पचासौं बर्ष काँग्रेसमा विताएका उनिहरुलाई पार्टीले कहिले हसिया हथौडामा, कहिले गाईमा, कहिले सूर्यमा त कहिले आँखामा भोट हाल्न भन्द्याछ । रुखमा भोट हाल भन्ने नै काँग्रेस रहेन भने तनहुँको क्षेत्र नं. १ मात्रै रुखमा भोट हाल्ने कुरा आदर्श, सिद्धान्त र निर्णयको कुरा आउँदछ ? अब सबै व्यक्तिवादी चुनाव भयो । व्यक्तिगत रुपमा म नेपाली काँगैस हूँ र पार्टीको आधिकारिक उम्मेदवार पनि हूँ । यो लडाई चल्दै चान्छ । तपाईले देख्नु भयो म चुनाव लड्छु भन्दा मलाइ कारवाही गर्नुपर्दछ भन्छन् । यस्तो अधिनायकवाद पञ्चायतमा पनि थिएन । पञ्चायत भन्दा पनि अधिनायकवादी र गैरप्रजातान्त्रिक सोंच काँग्रेसमा आईसकेपछि जे पनि गर्न सक्दछन् । मैले अस्ति रामचन्द्र जी र शशांक कोइरालाको अगाडि प्रधानमन्त्रीलाई भने ‘म चुनाव लडें भने, मलाई नेपाल त बस्न दिनु हुन्छ होइन ?’ मलाई नेपाल नै बस्न पाउनु हुन्न भन्नु हुन्छ कि भन्ने डर थियो, तर भन्नु भएन । फेरी बस्न पाउनु हुन्छ पनि भन्नु भएन । यहाँ मलाई र मेरो समर्थनमा हुनेलाई जे पनि गर्न सक्दछन् तर सामना गर्नु पर्दछ विचलित हुनु हुँदैन । यो राष्ट्रिय अभियान हो । तनहुँको मात्रै कुरा होइन । म जागिर खानका लागि उम्मेदवार हुन लागेको पनि होइन । काँग्रेस सुद्धिकरणको लागि कहि न कहिबाट आवाज उठ्नु पर्दथ्यो । त्यसको सुरुवात मैले गरें । संसदीय बोर्डमा रहेका कतिपय साथीहरुले फोन गरेर भने तपाई निर्वाचन लड्दै हुनुहुँदो रहेछ हामीलाई थाहै भएन । बोर्डमा बसेर पनि हाम्रो कुनै मूल्य भएन । शेर बहादुर, रामचन्द्र र शशांकको भागबण्डामै सकियो भन्नु भयो । यो सिद्धान्तको लडाई हो र यस्तोमा प्राविधिक कुरा गरेर मात्र हुँदैन । रुख देशभर रहेन । अनि तनहुँमा पनि रहने कुरै भएन । सत्ताका लागि गरिने राजनीति विरुद्धको अभियानमा हामी छौं । त्यसैले आमसाथीहरु र मतदाता यो प्राविधिक कुरामा नअल्मलिने वातावरण बनाउन हामी सजग छौं ।
 
साप्ताहिकः नेपाली काँग्रेसको आर्दश र सिद्धान्त बचाउन लागि परेका तपाईलाई राष्ट्रिय राजनीतिबाट किन पछि पार्न खोजिएको होला ?
जोशीः
 मैले सत्ता र स्वार्थको पछि काँग्रेस लाग्नु हुँदैन भने । सत्ताप्राप्ति र स्वार्थ पूर्तिमा नेपाली काँग्रेसलाई प्रयोग गर्न खोज्नेहरु सबै मेरो विरुद्ध लागेका छन् ।
 
साप्ताहिकः काँग्रेसको एउटा पक्ष गोविन्दराज जोशीलाई बाहेक गरेर जाने, बद्नाम गर्ने गरी प्रचारमा छन् यो बेला आफ्ना समर्थक शुभेच्छुकलाई तपाईको सन्देश के छ ?
जोशीः
 तनहुँमा त्यो समस्या नै छैन । तनहुँमा २०२५ सालमा काँग्रेसको समिति गठन गर्दा जम्मा सात जान थियौं हामी । त्यो काँग्रेस आज यति ठूलो भएको छ । हरेक दुःखको घडिमा यहाँका काँग्रेस कार्यकर्ताले महत्वपूर्ण योगदान गर्नुभएको छ । नेपालको हरेक प्रजातान्त्रिक आन्दोलनमा तनहुँका काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । र ती काँग्रेस कार्यकर्ताहरु मेरो साथमा छन् । जुन अभियानमा म आफै अगाडि आएको छु । मलाई कारवाही होला र अरु जे पनि हुन सक्दछ । किन भने २०६४ को निर्वाचनमा नेपाली काँग्रेसकै नेतृत्वले मेरा विरुद्ध वागी उम्मेदवार उठायो । भूमर्से काण्डमा म माथि साँघातिक आक्रमण नेपाली काँग्रेसकै नेतृत्वको (म नाम भन्न चाहन्न) सक्रियतामा भएको थियो । निर्वाचनको दिनमा मेरो गाउँमा गएर कुटपिट गरियो, त्यो पनि काँग्रेस नेतृत्वकै सल्लाहमा जुन कुरा अहिले माओवादीहरु मसंग भन्दछन् । निर्वाचनको दिन दमौलीबाट मलाई हिड्न दिइएन । त्यो पनि काँग्रेसकै नेतृत्वको सल्लाहमा । यी सबै मैले भोग्दै आएको छु । त्यसैले मैले भनेको म माथि जे पनि हुन सक्दछ । तर त्यसको डटेर म सामना गर्दछ्ु । मेरा साथीहरु डटेर समना गर्नुहुन्छ । कोही विचलित हुने छैनन् । उहाँहरु कसै माथि केही भयो भने त्यसको जिम्मेवारी म लिन्छु । उहाँहरुको साथमा म छु । हामी डटेर मुकाविला गर्दछौं र पार लगाएर यो निर्वाचनमा विजय हासिल गर्दछौं ।