Govinda Raj Joshi

Bisweshwor Prasad Koirala Ganesh Man Singh Krishna Prasad Bhattarai Girija Prasad Koirala

Interview on Satyagraha

गोविन्दराज जोशी नेता, नेपाली कांग्रेस० अहिले दलहरूबीच चरण–चरणको वार्ता भइरहेको छ, तर समाधानको बाटो पहिल्याउन सकेको देखिँदैन, यसलाई कसरी हेर्न मिल्छ ?     

– वास्तवमा यो वार्ता एउटा बाध्यताको उपज हो, यो सहमति निकाल्न गरिएकै होइन । नेकपा माओवादीलाई जसरी पनि सरकारमा जानुपर्ने छ । एमाले र नेपाली कांग्रेसलाई माओवादीलाई सरकारमा लान दिनै हुँदैन । बाहिर सारा जनताको दबाब के छ भने तीनवटा पार्टीले सहमति गरेनन्, सरकार पनि बनाउन सकेनन्, संविधान पनि बनाउन सकेनन्, बजेट पनि ल्याउन सकेनन्, शान्ति प्रक्रियालाई पनि निष्कर्षमा पु¥याउन सकेनन् भन्ने र त्यसको लागि प्रयास नै गरेनन् भन्ने छ । त्यो दबाबलाई शान्त पार्नका लागि बाध्यतावश हात्तीवनदेखि गोकर्णसम्मको वार्ता हो । एकातिर माओवादीलाई प्रधानमन्त्री कांग्रेस र एमालेले दिँदै दिँदैनन् । कांग्रेसलाई माओवादी र एमालेले मान्दै मान्दैनन् । बाहिर जनताको बुझाइमा अब राजनीतिक दलहरूले बेइमानी गरे, शीर्ष नेताहरूले प्रयास नै गरेनन्, भन्ने छ र दबाब पनि आएको छ । त्यो दबालाई थाम्नका लागि हामीले एकदम प्रयास गरेका छौं भनेर चरण चरणको वार्ता गरिएको हो । यसबाट निष्कर्ष निस्कँदैन भनेर थाहा छ र निस्कँदा पनि निस्कँदैन । किनभने यसको गन्तव्य नै स्पष्ट छैन । त्यो अवस्थामा यो वार्ता भनेको देखाउनका लागि र झुक्याउनका लागि हो । कुनै पनि शर्तमा माओवादी आफूबाहेक अरुलाई प्रधानमन्त्री मान्न तयार छैन । त्यो अवस्थाको वार्ताले कुनै परिणाम निस्कन्छ भनेर भन्नु अस्वाभाविक हुन्छ । त्यसैले यो एउटा रणनीतिक हिसाबमा गरिएको वार्ता भएको हुनाले यसबाट कुनै समाधान निस्कन्छ भन्ने मलाई लाग्दैन ।   ० यो अवस्था कहिलेसम्म रहने त ? – यो अवस्था रहनुभन्दा अगाडि खासगरी नेपाली कांग्रेसका वार्तामा सम्मिलित नेताहरू सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेलले आफ्नो दृष्टिकोण स्पष्ट राख्न सकिरहेका छैनन् । र, कांग्रेसको ‘पोजिसन’ पनि वास्तवमा अहिले स्पष्ट रूपमा रहन सकेको छैन । एमालेको पनि त्यही हो, एमालेको दुई समूह छ, झलनाथजीको एउटा समूह छ भने खड्ग ओलीजीको अर्को समूह छ । झलनाथजी माओवादीसँग नजिक हुनुहुन्छ भने खड्ग ओलीजी माओवादीसँग धेरै टाढा हुनुहुन्छ, त्यहाँनेर अन्तद्र्वन्द्व छ । अहिले वास्तवमा प्रमुख विषय नै उठेको छैन । नेपाली कांग्रेसका नेताहरूले पनि इमान्दारिता कहाँनेर देखाएको छैन भने वास्तविक समस्या अडान भनेको बहुलवादमा आधारति बहुदलीय व्यवस्था हो, यसमा सम्झौता गर्न सक्दैन । अहिलेको संविधानमा २४० निर्वाचन क्षेत्र छ भने बन्ने संविधानमा ६७ निर्वाचन क्षेत्र बनाइँदैछ, त्यसलाई कुनै नेपाली जनता मान्न तयार छैनन् । २४० क्षेत्रमा अलिकति घट्ला तर यो अव्यावहारिक बनाइएको छ । तल्लो सदनमा निर्वाचन गर्ने, उपल्लो सदनमा समानुपातिक र समावेशी व्यवस्था गर्ने किसिमको संसद्लाई नेपाली कांग्रेसले छोड्न सक्दैन । स्वतन्त्र न्यायपालिकालाई कांग्रेसले छोड्न सक्दैन । माओवादी लडाकूको संख्या बढीमा पाँच हजार (जो प्रचण्डजीले भिडियो टेपमा भन्नुभएको छ), त्यो भन्दा बढीलाई कांग्रेसले मान्न सक्ने अवस्था छैन । तीनलाई पनि अहिलेको बहाल रहेको नेपालको अन्तरिम संविधान र नेपाली सेनासम्बन्धी ऐनमा भएको व्यवस्था अनुरूप बाहेक अरु योग्यता बनाएर कांग्रेसले माओवादीका लडाकूलाई समायोजन गर्नसक्ने अवस्था छैन । विस्थापितहरूलाई स–सम्मान गाउँमा फर्काउन सक्ने व्यवस्थाबाट नेपाली कांग्रेस पछाडि हट्न सक्दैन । त्यस्तै, कांग्रेसका कार्यकर्ता अन्य पार्टीका कार्यकर्ताहरूको माओवादीले कब्जा गरेका सम्पति फिर्ता नगर्दासम्म नेपाली कांग्रेसले माओवादीसँग सम्झौता गर्न सक्दैन । त्यसैले वार्तामा गएका कांग्रेसका नेताहरूले माओवादी यी कुरा मान्न तयार छ भने कांग्रेस र माओवादीबीचमा सम्झौता हुन्छ, होइन भने हुँदैन । यो कुरालाई स्पष्ट राखेर माओवादी मान्न तयार छैन भने किन हात्तीवन र गोकर्ण धाइरहनुप¥यो ? ० वार्तामा सम्मिलित कांग्रेसका नेताहरूले आफ्नो पार्टीको स्पष्ट अडान राख्न नसकेको भन्ने देखियो त ? – नसकेको होइन, राखेकै छैनन् । उनीहरूलाई प्रधानमन्त्री उम्किन्छ कि भन्ने छ । खासगरी अहिले त शान्ति प्रक्रिया प्राथमिक विषय नै होइन, प्राथमिक त सरकार भइदियो । माओवादीले मान्दैन भने किन वार्ता गरिरहने ? माओवादीले सके आफ्नो हिसाबमा गर्छन्, हामीले सके आफ्नो हिसाबले गरिन्छ । एजेण्डा त अब कांग्रेसले दिनुप¥यो । यी एजण्डाहरूमा माओवादी मान्न तयार छ कि छैन भनेर कांग्रेसले एजेण्डा प्रस्तुत गर्नुपर्ने ठाउँमा हाम्रा नेताहरू माओवादीको एजेण्डामा छलफल गर्छन्, दुर्भाग्य त यो हो । हाम्रो एजेण्डा नमान्ने माओवादीसँग हाम्रो कुरै हुन सक्दैन । म सुन्दैछु हाम्रा नेताहरूको, माओवादीले दिनदिनै एजेण्डा ल्यायो रे, आफू दिन नसक्ने अनि ल्याउँछु भन्ने । त्यसैले हाम्रा नेताहरूको अकर्मण्यता, क्षमताविहीनताले गर्दा आज माओवादीको यो अवस्था भएको हो । यी सबै कुरा भन्न नसकन्नुको कारण भनेको सरकार बनाउन त माओवादीबिना सकिँदैन । त्यसैले माओवादीलाई नचिढाउने जो दुर्बल मानसिकता यो नेतृत्वमा छ, त्यसैको कारणले हाम्रो पनि सरकार बन्न सकेन । अस्ति बामदेवजीले जबसम्म रामचन्द्र पौडेलजीले उम्मेदवार झिक्नु हुँदैन, तबसम्म सहमति हुँदैन भनेर स्पष्ट भन्नुभयो । अरुले चाहिँ स्पष्ट भन्ने हाम्रोले चाहिँ स्पष्ट भन्न नसक्ने ? हाम्रालाई एक हप्तामात्र प्रधानमन्त्री पाए पुग्छ । ० प्रधानमन्त्री कांग्रेसलाई चाहिएको हो कि कांग्रेसभित्रको समूहलाई चाहिएको हो, यस्तो परिस्थितिले के देखाउँछ ?  – प्रधानमन्त्रीमा कांग्रेसको असफलता किन भयो भन्ने अहिलेसम्म छलफल भएको छैन । बामदेवजीले रामचन्द्र पौडेललाई हामी प्रधानमन्त्रीको उम्मेदवार मान्दैनौं भने । रामचन्द्र पौडेललाई नमान्ने हो कि कांग्रेसलाई नमान्ने हो, कांग्रेस नै रामचन्द्र पौडेल त होइनन् नि । कांग्रेसभित्र यदि नेतृत्व परिवर्तन गरेर अगाडि आउँदा अरु पार्टी मान्न तयार छन् भने त्यसका लागि कांग्रेस तयार हुने कि नहुने ? त्यसबारेमा छलफल गर्नुपर्छं कि पर्दैन । एमालेको उपाध्यक्ष जस्तो मान्छेले प्रश्न उठाउँदा हामीबीचमा छलफल हुनुपर्ने हो कि होइन ? यतिबेलासम्म नेपाली कांग्रेस १६ पटक हारिसक्यो, त्यो भन्दा बेइज्जत के हुन्छ ? सयपटक पनि हार्छु रे अनि एक महिनालाई प्रधानमन्त्री पाए पनि खान्छु रे, कांग्रेसका कार्यकर्ताले त्यो त मान्छन् जस्तो लाग्दैन । त्यो भन्दा लाजमर्नु के हुन्छ ? अब स्पष्ट हुनुपर्छ, नेपाली कांग्रेसको नेतृत्व स्वीकार गर्न माओवादी र एमाले तयार छन्, तर रामचन्द्र पौडेलको नेतृत्व स्वीकार गर्न तयार छैनन् भने त पार्टीले फेर्नुप¥यो नि । ० पार्टीले किन यस विषयमा छलफल र प्रक्रिया अगाडि बढाउन खोजेको छैन ? – हो, अब पार्टीले एमाले र माओवादीसँग सोध्नुप¥यो कि कांग्रेसको नेतृत्व स्वीकार्य नभएको हो कि रामचन्द्र पौडेल स्वीकार्य नभएको हो ? नेपाली कांग्रेसको नेतृत्व नै स्वीकार नभएको हो भने त किन कुरा गर्ने एमाले र माओवादीसँग हामीले ? उनीहरू भने कांग्रेसलाई अघि लाग्न नदिने ? उनीहरूलाई हाम्रो नेतृत्व स्वीकार्य छैन भने हामीलाई पनि एमाले र माओवादी चाहिँदैन भनेर भन्न सकिँदैन र ? कांग्रेसबिना सरकार चल्छ, संविधान बन्छ भने बनोस् न त । त्यो भन्ने आँट पनि अहिलेको नेतृत्वले देखाइरहेको छैन । यही निमुखोपनाले गर्दा नेपाली कांग्रेसको स्थान दिन प्रतिदिन गिर्दै गएको छ । नेपाली कांग्रेस किन लडेको छ भन्ने त मैले थाहा पाउनु प¥यो नि, कार्यकर्ताले थाहा पाउनु प¥यो नि, त्यो कुरा कसैले भन्दैन । पार्टीमा छलफल भएको पनि सुनिँदैन । खासगरी एमाले र माअ‍ोवादीसँग कांग्रेसले स्पष्ट दृष्टिकोण राख्नुपर्छ । अर्को अप्ठेरो के छ भने १६–१६ पटक एउटा मान्छेलाई अयोग्य भन्ने संविधानसभाले १७ औं पटकमा कसरी योग्य भन्ने ? प्रचण्ड र रामचन्द्र पौडेललाई जिताए भने सभासद् नै अयोग्य हुन्छन् । यदि उम्मेदवार फेरेर समाधान निस्कन्छ भने त्यो पनि नेपाली कांग्रेसले सोच्नुपर्छ । ० यस विषयमा पार्टीभित्र किन छलफल हुँदैन त ? – हाम्रो पार्टी सीमित सोचाइबाट चल्ने पार्टी भएको हुनाले यसो भएको हो । कांग्रेससँग शेरबहादुर देउवा, केबी गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ छन्, कसैलाई पनि बनाउन सकिन्छ नि । एउटै व्यक्तिको लागि पार्टी सति जाने कुरा त भएन नि । ० तर, अर्काथरीले कांग्रेसले उम्मेदवारी फिर्ता लिनु भनेको माओवादीसँग हार्नु हो भन्ने तर्क पनि अगाडि सारेका छन् नि ? – जित कसरी भयो त, जनतामा थाङनो पार्टी बनाएर जित त हुँदैन नि । सत्ताको लागि लालसा देखाएर जितिन्छ कहीँ ? कांग्रेसले झिक्यो भने माओवादी फेरि प्रधानमन्त्री हुन्छ भनेर हुन्छ ? कसरी चलाउँछन् हेरौं न ? हाम्रो हुन पनि नसक्ने । यदि एमाले र माओवादीलाई कांग्रेसको नेतृत्व स्वीकार्य छैन भने कांग्रेसले सोच्नु परेन ? त्यसकारण स्पष्ट धारणा राख्नुपर्छ भन्ने मेरो मान्यता हो । ० दलहरूको खिचातानी र अन्तद्र्वन्द्वले गर्दा संविधान निर्माणको प्रक्रिया कहाँ पुग्यो त ? – संविधान निर्माणको समय त दुई वर्ष कटिसक्यो, सिद्धियो । वास्तवमा यो संविधानले म्याद थप्ने अधिकार नै दिएको छैन । जनताको ‘म्याण्डेट’ पनि थप्न पाइन्छ ? प्राविधिक किसिमले संविधानसभाको अवधि तीन वर्षको भएको छ तर जनताको ‘म्याण्डेट’ भनेको दुई वर्ष मात्रै हो । दुई वर्ष कटाउने अधिकार छैन । बढीमा संकटकाल लाग्यो भने छ महिना थप भनेको ठाउँमा धारा नै परिवर्तन गरेर तीन वर्ष त बनाउन पाइँदैन । त्यसैले संविधान अहिलेको प्राथमिकता नै होइन । संविधान रणनीति हो, शान्ति प्रक्रिया रणनीति हो । अर्को कुरा के हो भने माओवादीले पनि के बुझ्नुपर्छ भने माओवादीलाई नागरिक पार्टी बन्नुप¥यो भनेर नेपालका राजनीतिक दलहरूले भन्छन्, ‘हामी किन नागरिक दल नहुने, हामी चुनाव लड्यौं, संविधानसभामा भाग लियौं, ठूलो पार्टी बनेर सरकार पनि चलायौं, हामी नागरिक पार्टी होइन भनेर कसले भन्यो,’ भनेर माओवादी भन्छ भनेर सोच्नुपर्छ । जनता र राजनीतिक दलहरू लोकतन्त्र खाइदिन्छ कि भनेर सेनाबाट डराएका हुन्छन् । बर्मा, बंगलादेश र पाकिस्तानमा हेर्दा त्यो देखिन्छ तर नेपालमा के भयो भने प्रचण्ड जी प्रधानमन्त्री हुँदा माओवादी समेत २५ दल संसद्मा छन् । २५ दल मध्ये २२ दललाई के लाग्यो भने माओवादीले प्रजातन्त्र खाने भएको हुनाले प्रजातन्त्रको संरक्षणका लागि नेपाली सेनालाई गुहार्नुपर्छ भनेर कांग्रेस, एमाले, फोरम, राप्रपा जम्मै राष्ट्रपतिकोमा गए । नेपालको २२ वटा दललाई माओवादीप्रति विश्वास त रहेनछ त । माओवादीभन्दा त नेपाली सेना असल भन्ने रहेछ नि । अहिले पनि माओवादी लडाकूलाई नेपाली सेनामा मिलायो भने त लोकतन्त्र नै खाइदिन्छु भनेर अरु दलले भनिरहेका छन् । त्यसैले कुनै पनि हालतमा माओवादीका लडाकूलाई नेपाली सेनामा ल्याउनु हुँदैन भन्छन् । मतलब के हो माओवादीबाहेकका सबै दल र सेना एक ठाउँमा उभिनुपर्छ अन्यथा माओवादीबाट लोकतन्त्रलाई खतरा र भनिएकै हो नि । यो कुरा माओवादीले नबुझ्दा अहिलेको स्थिति सिर्जना भएको हो । माओवादीको नेतृत्वमा सरकार बन्यो भने यो देशबाट लोकतन्त्र जान्छ भन्ने २२ दल र नेपाली जनताको विश्वास हो । यही कुरा हाम्रा दलका नेताले भनेको भए निष्कर्षमा पुगिन्थ्यो । ० भोलिका दिनमा नेपाली कांग्रेसको भूमिका कस्तो रहनुपर्छ त ? – नेपाली कांग्रेसले पहिलो त आफ्नो अडान, आफ्नो दृष्टिकोण स्पष्टसँग भन्नुप¥यो । नेपाली कांग्रेसलाई बाहिर राखेर माओवादी र एमालेले मात्र पनि केही गर्न सक्दैन । वार्ता हुँदा नेपाली कांग्रेसले आफ्नो स्पष्ट अडान राख्नुप¥यो । अहिले हाम्रो पहिलो प्राथमिकता प्रधानमन्त्री देखिएको छ । हामीले विस्थापितलाई केही गर्न सकेनौं, कब्जा भएका सम्पति फिर्ता गर्न सकेनौं । आज धमाधम कांग्रेसका कार्यकर्ता पिटिएका छन्, सानेपामा वक्तव्य दिएर चुप लागेर बसेका हुन्छौं । वार्तामा यी कुरा उठ्न पर्छ कि पर्दैन ? कहीँ त्यो कुरा हामी उठाउँदैनौं । त्यसकारण नेपाली कांग्रेस यतिबेला निमुखा भएको छ । त्यो अवस्थामा नेपाली कांग्रेसले आफ्नो दृष्टिकोण राखेर अगाडि बढ्नुपर्छ । हाम्रो दृष्टिकोण भनेको फेरि कांग्रेसको लागि हुनुहँुदैन । हाम्रो दृष्टिकोण भनेको विश्वव्यापी मान्यतामा आधारित लोकतन्त्रका लागि हुनुपर्छ । 

वर्ष १२, अंक १०,२०६७ साल कात्तिक २७ गते शनिबार