Govinda Raj Joshi

Bisweshwor Prasad Koirala Ganesh Man Singh Krishna Prasad Bhattarai Girija Prasad Koirala

प्रतिनिधि सभाको निर्वाचनमा मेरो उमेदवारी किन ?

 

                                                             

 


आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !
जय नेपाल !
यही २०७४ साल मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा अर्थात् संघीय व्यवस्थापिकाको निर्वाचनमा मिति २०७४ कार्तिक ९ गते दमौलीमा भएको नेपाली काँग्रेस तनहुँ जिल्ला क्षेत्र नं. १ को क्षेत्रीय भेलाको निर्णय अनुसार म गोविन्दराज जोशीले तनहुँ जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको उमेदवारको रूपमा आफ्नो उमेदवारी दर्ता गराएको छु । मेरो उमेदवारी किन ? भन्ने उत्सुकता आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूलाई हुन सक्दछ । यस विषयमा मैले तपाईंहरू समक्ष आफ्ना कुराहरू स्पष्ट पार्न आवश्यक भएको महसुस गरेको छु । नेपाली काँग्रेसका संस्थापक एवम् प्रजातान्त्रिक समाजवादका चिन्तक परमादरणीय विश्वेश्वर प्रसाद कोइराला अहिले हाम्रो माझ हुनु हुन्न । उहाँ हामी माझ नभए पनि उहाँका समग्र विचारहरू नेपाली राजनीतिमा अहिले पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् । वी.पी. कोइरालाले आफ्नो जीवनको अन्ततिर भन्नु भएको थियो –
ूम मरेपछि नेपाली काँग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरूलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । नेपाली काँग्रेसमा मैले लिएको अडान र मेरो दृटिकोणलाई गौण बनाइनेछ । मैले नेपाली काँग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरूको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा, मेरा अडानका निरन्तरता छन् । हिन्दुस्थानका बारेमा, राजाका बारेमा र संसारसँगको सम्पर्कका बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरू मैले सधैँ उल्लेख गर्ने गरेको छु । २००७ सालको क्रान्ति हामीले हिन्दुस्थानबाट सञ्चालन ग¥यौँ । हामीलाई हिन्दुस्थानले सञ्चालन गर्न खोजेको कुराको मैले सधैँभरि र सबभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेसा महत्त्व दिएको छु । मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु । उनको निरङ्कुश शैलीको मैले सधँै र सबभन्दा बढी विरोध गरेको छु । मैले हिन्दुस्थानमा बसेर सङ्गठन गर्दा पनि आफ्नो राष्ट्रियताको छवि कायम राख्ने प्रयास गरे । राजासँग मेलमिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिन । मेरा यी अडानहरूका बारेमा व्यापक भ्रम सिर्जना हुने सम्भावना मैले देखेको छु । नेपाली काँग्रेसको इतिहास ती सबै आदर्शहरू र लक्ष्यहरूका साथ भएको सङ्घर्षको इतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्ज्वल भविष्यका लागि नेपाली काँग्रेसमा ती कुराहरूको निरन्तरता रहनु पर्दछ । जुन दिन नेपाली काँग्रेसले राष्ट्रियताको आफ्नोे अडान छोड्नेछ , यो निरर्थक भएर जाने छ । जुन दिन यसले प्रजातन्त्रको आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्ने छ , यो निरर्थक भएर जानेछ । नेपाली काँग्रेसलाई उसको अग्रिम ऐतिहासिक भूमिकाका लागि मेरा दृष्टिकोणहरू अनुरूपको यसको इतिहास लेख्नु आवश्यक छ ।ू (जेलजर्नल (विश्वेश्वर प्रसाद कोइराला (पृष्ट छ ज) 
नेपाली काँग्रेसमा अहिले यही स्थितिको सिर्जना भएको कुरा मैले बारम्बार भन्दै आएको छु । सत्ताका लागि नेपाली काँग्रेसले अहिले पार्टीभित्र विनाछलफल, विनानिर्णय कहिले उग्र वामपन्थीहरूसँग त कहिले उग्र दक्षिणपन्थीहरूसँग साँठगाँठ गर्दै आएको छ । त्यतिमात्र नभई निर्वाचनको समयमा टिकट वितरण गर्ने क्रममा कि त आर्थिक मोल मोलाइ गरेर सिद्धान्त र आदर्शलाई पैसामा बिक्री गरी पार्टीका इमान्दार र प्रतिभाशाली नेता कार्यकर्ताहरूको मानमर्दन गरिएको छ कि त परिवारवाद, नातावाद र गुटगत आधारमा टिकट वितरण गरी नेपाली काँग्रेसका इमान्दार कार्यकर्ताहरूमाथि अन्याय गरिएको छ । यसले एकातिर काँग्रेसका सम्पूर्ण कार्यकर्ता एवम् शुभेच्छुक जनमा निराशा उत्पन्न भएको छ भने अर्कोतिर काँग्रेस नेपाली राजनीतिको पूर्णताबाट क्रमशः खस्कँदै अपूर्णतातर्फ उन्मुख भइरहेको छ । यस्तै हो भने अब नेपाली काँग्रेसको बारेमा एउटा दुःखार्त स्थितिको चित्रण भविष्यका पिढीले गर्नु पर्ने छ । समय, सन्दर्भ, सामाजिक संस्कार र मान्यताभित्र आज नेपालको सबैभन्दा जेठो, ठूलो, विशाल र प्रजातान्त्रिक सिद्धान्तनिष्ठ पार्टी नेपाली काँग्रेस दिनानुदिन कमजोर हुँदै जानुका पछाडिका कारणहरूको पहिचान गर्नु आजको मूल आवश्यकता भएको छ । यसलाई आत्मसात् गरी अघि नबढेमा नेपाली काँग्रेस आफ्नो इतिहास बचाउन असमर्थ हुनेछ । वर्तमानमा स्वाभिमानी भएर बाँच्न सक्ने साहस पनि काँग्रेसले बटुल्न सकेको देखिएन । अहिले काँग्रेसका कार्यकर्ताहरूको गला अवरुद्ध भएको छ । वर्तमान काँग्रेसको नेतृत्व यति अधिनायकवादी भएको छ कि यो समग्र परिस्थितिको विरोध गर्ने साहस पनि कुनै नेता कार्यकर्तामा कहीँ कतै देखिएको छैन । केन्द्रीय नेतृत्व कति कमजोर, निरीह र नालायक भएको छ यो निर्वाचनपछि पुष्टि हुनेनैछ । त्यसैले यस अवस्थाको मैले सामना गर्नु पर्दछ भनेर यो कठोर र कठिन निर्णय गरेको हुँ । 
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !
२०१८ सालमा मेरा आदरणीय पिता पदम राज जोशी राजकाज मुद्दामा गिरफ्तार हुनुभएपछि म किशोर अवस्थामा नै नेपाली काँग्रेसको राजनीतिमा संलग्न हुन पुगेको हुँ । २०२१ सालदेखि त निरन्तररूपमा अत्यन्त कठिन अवस्थामा पनि नेपालमा भएका सबै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेको छु । २०२५ सालदेखि तनहुँ जिल्लामा नेपाली काँग्रेस पार्टीको सङ्गठन निर्माण, विस्तार एवम् सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको कुरा मैले पुनः दोहो¥याइरहन पर्दैन । आजसम्म मेरो तागतले भ्याएसम्म तनहुँ जिल्लावासी दिदीबहिनी तथा दाजुभाइहरूको हरेक सुखदुःखमा साथ दिँदै आएको छु र आगामी दिनहरूमा पनि तपाईंहरूको दुःखसुखमा सधैँ साथ दिने प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छु । निरङ्कुश पञ्चायतका ती कठिन दिनहरूमा तनहुँ जिल्लामा पार्टीका कार्यकर्ताहरूको संरक्षण र सङ्गठन विस्तारमा मैले महत्त्वपूर्ण भूमिका खेलेको थिएँ । राष्ट्रिय राजनीतिलाई अलग राखेर जिल्लाको मात्र कुरा गर्दा म दर्जनौँ पटक जेल परेको र जस्तोसुकै अवस्थामा पनि तनहुँ जिल्लामा पार्टीको सङ्गठन निर्माण गर्न र कार्यकर्ताहरूलाई संरक्षण गर्न निरन्तर समर्पित रहेको कुरा सर्वविदितै छ । त्यतिबेला मेरा साथमा रहेर काँग्रेसको सङ्गठन निर्माणमा निरन्तर साथ दिनुहुने सम्पूर्ण सहृदयी साथीहरूलाई यतिबेला म आदरपूर्वक स्मरण गर्न चाहन्छु ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !
२०४६ सालको जनआन्दोलनको परिणामपछि जिल्लामा मप्रति वक्रदृष्टि राख्नेहरूको आक्रमण पटकपटक बेहोर्नु परेको कुरा मैले भनिरहनु पर्दैन । २०४६ साल अघि हरेक सङ्कटको सामना मैले गर्नु पर्दा कहीँ कतै उपस्थित नहुनेहरू २०४६ सालपछि एकाएक सक्रिय भई पहिलो आम निर्वाचनमा मलाई ३ नंं. क्षेत्रमा पठाउने दुर्नियतपूर्ण षड्यन्त्र गरियो । मेरो मन्जुरी बेगर षड्यन्त्रपूर्वक मलाई हराउन गरिएको निर्णय बदर भएपछि म तनहुँ जिल्ला क्षेत्र नं २ बाट निर्वाचित भएँ । २०५१ को निर्वाचनमा मलाई जबरजस्ती तनहुँ क्षेत्र नं १ मा पठाइयो । त्यहाँबाट पनि म निर्वाचित भएँ । २०६४ को निर्वाचनमा मेरो विरुद्ध काँग्रेसकै नेताहरूको संलग्नतामा वागी उमेदवार मात्र उठाइएन ममाथि पटक पटक साङ्घातिक आक्रमण समेत गराइयो । यो यथार्थ कसैबाट छिपेको छैन । २०७० को निर्वाचनमा मलाई समानुपातिकमा पनि उमेदवार बनाइएन प्रत्यक्षको त कुरै छोडौँ । यति गर्दा पनि सन्तुष्ट नभएर यस पटकको निर्वाचनमा पुनः मलाई राजनीतिमा उपस्थित नदेखाउने षड्यन्त्र गरेपछि मैले तनहंँु जिल्ला क्षेत्र नं. १ का नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको परामर्शमा आफ्नो उमेदवारी दिएको छु । यी सबै षड्यन्त्रकारी गतिविधिमा रामचन्द्र पौडेल लगायत ककस्को सक्रियता र सहभागिता छ तनहुँ जिल्लावासी सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूलाई घाम जत्तिकै छर्लङ्गै छ ।
मैले २०२५ सालदेखि तनहुँमा नेपाली काँग्रेसको सङ्गठन निर्माण गर्न सुरु गरेको हुँ । २०३५ सालमा गोरखपुरमा भएको बैठकमा गिरिजाप्रसाद कोइरालाको परामर्शमा जिल्ला कार्य समितिको सदस्यमा प्रवेश गर्नु भएका रामचन्द्र पौडेल जिल्लामा हावी हुन थालेपछि तनहुँ जिल्लाको काँग्रेसको सङ्गठन कमजोर हँुदै गएको छ । पार्टीको केन्द्रीय स्तरको धाक रवाफ देखाई जिल्लामा मनोमानी गर्ने प्रवृत्तिको उदाहरण गत स्थानीय निकायको निर्वाचन पनि हो । स्थानीय निकायको निर्वाचनमा कसलाई कसरी टिकट दिइयो सबैको अगाडि छर्लङ्ग भएको छ । यो मनपरीतन्त्रको अन्त हुनुपर्दछ भन्ने आम कार्यकर्ताहरूको भावनालाई यो निर्वाचनमा मैले सम्बोधन गर्न सकिन भने कार्यकर्ताहरूको भावनामा कुठाराधात हुने भएकाले अन्यायका विरुद्ध न्यायका लागि यो निर्वाचनमा मैले आफ्नो उमेदवारी दिएको हुँ । मैले मिति २०७४ कार्तिक ९ गते दमौलीमा भएको नेपाली काँंग्रेस तनहुँ जिल्ला क्षेत्र नं १ को क्षेत्रीय भेलाको निर्णय अनुसार क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको उमेदवारको रूपमा आफ्नो उमेदवारी दर्ता गराएको छु । पार्टीको केन्द्रीय तहमा भएका कारणले जालझेल गरी कार्यकर्ताहरूको भावना विपरीत टिकट ल्याएकै कारणले मात्र रामचन्द्र पौडेल पार्टीको आधिकारिक उमेदवार हुन सक्दैनन् । कार्यकर्ताहरू जो काँग्रेसको मेरुदण्ड हुन् उनीहरूको विशाल भेलाले दिएको निर्देशन अनुसार उठेको मबाहेक काँग्रेसको आधिकारिक उमेदवार अरु हुन सक्दैन ।
निर्वाचन कानुनी कुरामात्र नभएर राजनीतिक कुरा पनि हो । जनताले स्वतन्त्रतापूर्वक भोट दिन पाउनु पर्दछ । जनप्रतिनिधिले जनताको भावनालाई सम्बोधन गर्न सक्नुपर्दछ । विगतका वर्षहरूमा तनहुँ जिल्लामा मैले जति योगदान गर्न सकँे त्यसको कारणनै मैले साथीहरूबाट अभूतपूर्व माया पाएको छु । त्यसको लागि मैले तनहुँ जिल्लाका आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । मैले यो जिल्लामा सांसद् र मन्त्री हुँदा जे जति जनताको समस्या समाधान गर्ने काम गरँे अरु सांसद्हरूबाट किन हुन सकेन त्यो नै अहिलेको मापदण्डको धरातलीय यथार्थ हो । २६ वर्षसम्म सांसद् हुँदा पनि जिल्लामा केही गर्न नसक्ने एउटा मात्र क्षेत्रको जनताको पनि चित्त बुझाउन नसक्ने अनि निर्वाचनपिच्छे निर्वाचन क्षेत्र साट्न पर्ने अवस्था किन सिर्जना भयो । यस जिल्लाका जनताले राम्ररी बुझेका छन् । 
मैले म सांसद् हुँदाको अवधिमा तनहुँ जिल्लामा शिक्षाको क्षेत्रमा, विद्युतीकरणको क्षेत्रमा, सडक विस्तारको क्षेत्रमा, खानेपानीको क्षेत्रमा, पुल निर्माणको क्षेत्रमा, दमौलीमा टेलिफोन विस्तारदेखि सञ्चारको विस्तारको क्षेत्रमा, पर्यटनको विकासको क्षेत्रमा मैले के गरँे तपाईंहरूको आँखा अगाडि छर्लङ्गै छ । वन्दिपुरको पर्यटकीय विस्तार कसरी भयो त्यहीका जनताले भन्ने छन् । भानुमा स्थापना भएको सशस्त्र तालिम केन्द्र, दमौलीमा स्थापना भएको प्राथमिक शिक्षक तालिम केन्द्र, भिमादको प्राविधिक तथा व्यवसायिक तालिम केन्द्र, भानु जन्मस्थल विकास आयोजना, देवघाट विकास आयोजना, प्राथमिक र माध्यमिक शिक्षा परियोजनाको माध्यमवाट जिल्लाका विद्यालयहरूको निर्माण खेलकुदको क्षेत्रमा भएको विकास, मुस्लिमहरूको अनुरोधमा मदरसा विद्यालयको व्यवस्था आदि जिल्लामा भएका विकासका केही उदारणहरू हुन् । त्यतिबेला मेरो सक्रियतामा भएका सबै योजनाहरूको उल्लेख गर्न यहाँ सम्भव पनि छैन । त्यतिबेला तनहुंँमा आउने राष्ट्रिय विकासको रकम अहिले किन आउन सकेको छैन ? राष्ट्रिय नीति निर्माणदेखि राष्ट्रिय राजनीतिमा तनहुँको प्रभाव र पहँुच किन कमजोर भएको छ ? अहिलेको नेतृत्वसँग जनताले किन नसोध्ने ? जिल्लामा रोजगारी कति सिर्जना भए ? अरु कुरा त परै छोडाँै २०७२ सालमा आएको विनासकारी भूकम्पले तनहुँमा ३० हजारभन्दा बढी घरहरू भत्किए तर तनहुँ जिल्ला भूकम्प प्रभावित जिल्लामा पर्न नसकेकाले यस जिल्लाका जनताले सरकारबाट पाउने उचित राहत पाउन सकेनन् । यसरी जनता ठगिएको कुराको जवाफ वर्तमान सांसद्हरूले दिन पर्छ कि पर्दैन ? यी त केही उदाहरणमात्र हुन् । मैले भन्नै पर्ने भएकाले यहाँ उल्लेख गरेको हुँ । 
मैले यस जिल्लामा एकै पटक ४० वटा माध्यमिक विद्यालयको स्थायी स्वीकृति एवम् प्राथमिक र निम्न माध्यमिक विद्यालय तहमा अवश्यक दरबन्दीको व्यवस्था कसरी गरेको थिएँ ? यस जिल्लामा ५७ साल पछि किन एउटा शिक्षकको पनि दरबन्दी आएन ? यसको जवाफ कसले दिने ? अहिले सत्तामा बसेकाले दिनु पर्दैन ? जिल्लाभित्र शिक्षकमा र जिल्लाबाहिर नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र शिक्षा लगायत अन्य विविध सेवामा कति मानिसले रोजगारी प्राप्त गरे । यिनका केही उदाहरण यहाँ पुनः स्मरण गराउन चाहेको हुँ । आज मैले एक पटक तिनै मेरा सहयोगीहरू जसलाई मैले विगतमा सहयोग गरेँ । वर्तमानमा उनीहरूबाट सहयोगको अपेक्षा गरेको छु । २६ वर्षसम्म सत्तामा रहँदा पनि किन दमौलीमा एउटा साधन सम्पन्न अस्पताल बन्न सकेन, किन एउटा उच्च शिक्षा प्राप्त गर्ने आङ्गिक क्याम्पस सञ्चालन हुन सकेन, किन एउटा सभागृह बन्न सकेन, दमौली छाब्दीवराही जाने सडक त चुनावको बेला जनता झुक्याउने अस्त्र बनेको छ । किन कुनै सडक पिच हुुन सकेनन् , विकासको कुनै पनि क्षेत्रमा यो जिल्लाको किन पहुँच हुन सकेन ? यो मेरो प्रश्न हो ? केही गर्न नसक्ने व्यक्तिले जागिर खानको लागि सांसद् बन्ने होइन, विश्राम लिनु पर्दछ भन्ने मेरो व्यक्तिगत धारणा हो । यी र यस्तैे विगतमा मैले सुरु गरेका विभिन्न क्षेत्रका कामहरूको निरन्तरताका लागि र अव गर्नु पर्ने जनताका आवश्यक कार्यको लागि मैले आफ्नो उमेदवारी दिएको हुँ । 
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक हो । तनहुँ जिल्लाको वास्तविक यथार्थ पनि यही हो । तनहुँ जिल्ला भनेकै आदिवासी, जनजाति र अल्पसङ्ख्यक तथा पिछडिएका जनताहरू बसोबास गर्ने जिल्ला हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा यस जिल्लाका जनजाति र दलित नेताहरूले पु¥याउनु भएको योगदानलाई कहिल्यै भुल्न सकिँदैन । अमर सहिद लालध्वज गुरुङ्ग,्र धर्मध्वज गुरुङ्ग, वुद्ध सिं रानामगर ,उत्तरकुमार श्रेष्ठ, चन्दबहादुर सार्की, खङ्गबहादुर गोदार, सन्तबहादुर रानामगर, धर्मराज श्रेष्ठ आदि नेपाली आमाका सपूतहरूले पु¥याउनु भएको योगदान इतिहासमा सधैँ उज्ज्वल नक्षत्रका रूपमा रहनेछ । अमर सहिदहरू होमराज लोहनी, सरस्वतीकृष्ण श्रेष्ठ, कल्याण खनाल, ध्रुवदेव आचार्य, विष्णुप्रसाद जमरकट्टेल, रामजी भट्टराई र अरु यस्तै नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउनु भएका अमर सहिदहरूका परिवार र घाइतहरूको कहाँ मूल्याङ्कन भयो ? उनीहरूको परिवारको के कस्तो अवस्था रह्यो ? २६ वर्षमा यो प्रश्न पनि टट्कारो रूपमा उठेको छ । मेरो सक्रियतामा वन्दिपुरमा सहिदपार्क, पुलिमराङमा सहिदपार्क, वरभन्ज्याङमा सहिदपार्क बनाउने कार्य सुरुभयो । जनजाति भनेका यस देशका सुगन्धित र सुन्दर फुलहरू हुन् , गहना हुन् अनि हाम्रो सभ्यता र सँस्कृतिका पहिचान पनि हुन् । के उहाँहरू जनजातिकै अगुवाहरू भएकै कारणले रामचन्द्र पौडेलजीले ती ठाउँहरूमा पाइला पनि नटेक्नु भएको हो ? जनजातिहरू र त्यहाँका मानिसहरूको प्रश्न छ । मैले तिनै अधुरा कामहरू पूरा गर्न र तिनै जनजाति दलित महिला अल्पसङ्ख्यक, मुस्लिम र पिछडिएका आदिवासी आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूलाई सम्मान व्यक्त गर्न र उनीहरूको दुःखसुखमा साथ दिन मैले आफ्नो उमेदवारी दिएको हँु । 
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !
एउटा प्रश्नको पुनः उत्तर दिन मैले यहाँ उपयुक्त ठानेको छु । आखिर काँग्रेसबाट दुइटा उमेदवार किन र को हो काँग्रेसको अधिकारिक उमेदवार ? मैले २०७४ कार्तिक ९ गते दमौलीमा भएको नेपाली काँग्रेस तनहुँ जिल्ला क्षेत्र नं १ को क्षेत्रीय भेलाको निर्णय अनुसार तनहुँ जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उमेदवारको रूपमा आफ्नो उमेदवारी दर्ता गराएको छु । त्यसैले काँंग्रेसको आधिकारिक उमेदवार मबाहेक अरु कोही हुनै सक्दैन । रामचन्द्र पौडेल केन्द्रीय नेतृत्वमा भएको हुनाले खाली टिकटमा आफ्नो नाम भरेर जालझेल गरेर मनोनयन दर्ता गराएका हुन् । उनी कुनै हालतमा आधिकारिक उमेदवार हुन सक्दैनन् । तनहुँका कार्यकर्ता र जनताको समर्थन उनलाई होइन मलाई छ । २०७० सालको आम निर्वाचनमा पनि रामचन्द्र पौडेलले खाली टिकट लिएर मेरो टिकट रु ६० लाखमा बिक्री गरेको तनहुँका सबै जनतालाई थाहा छ । यस पटक पनि टिकट किन्ने मानिस पाएको भए त्यही कुरा पुनः दोहोरिने थियो । कसैले मेरो विरुद्धमा टिकट किन्न तयार नभए पछि उनी आफै लड्न तयार भएका हुन् । यसरी बारम्बार ममाथि अन्याय भएको हुनाले अन्यायको विरुद्ध मैले लड्ने निर्णय गरेको हुँ । यो मेरो लडाइ अन्यायको विरुद्धको लडाइ हो, न्यायको लडाइ हो र गलत प्रवृत्ति विरुद्धको लडाइ हो । कुनै व्यक्तिको विरोध होइन । 
यस अभियानमा मलाई साथ दिने न्यायप्रेमी कार्यकर्ताहरूलाई अन्तिम प्रहार हुन सक्दछ । मलाई साथ दिँदा पर्ने अप्ठयाराहरूको म डटेर सामना गर्ने छु । मलाई विश्वास गर्नु होस् म तपाईंहरूलाई धोका दिने मानिस होइन । मेरो कसैसँग कुनै आग्रह र पूर्वाग्रह छैन । भोलिका दिनहरूमा मेरो तागतले भ्याएसम्म तपाईंहरूको संरक्षण गर्नेछु । म पनि मानिस हुँ । मानवीय स्वभावका कारण विगतमा मबाट केही कमी कमजोरी भएको हुन सक्दछ । यदि विगतमा मेरै कारणबाट कसैलाई चोट परेको भए त्यसको लागि व्यक्तिगत रूपमा म क्षमा प्रार्थी छु । म यस अवसरमा अन्य दलका दाजुभाइ दिदीबहिनीहरूलाई पनि विनम्रताका साथ अनुरोध गर्न चाहान्छु । अहिले म गलत प्रवृत्तिको विरुद्ध लडिरहेको छु । मैले विगतमा निर्वाचनका समयमा बाहेक विकासका कुरामा होस् वा व्यक्तिगत काममा होस् कहिल्यै कुनै दलको मानिस हो भनेर सोचिन र सोधिन पनि । अवका दिनहरूमा पनि म सबै तनहुँवासी आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूलाई समान व्यवहार गर्ने छु भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
मैले भनिसकेको छु निर्वाचन कानुनी कुरामात्र नभएर राजनैतिक कुरा पनि हो । केन्द्रीय नेतृत्वमा रहेको कारण डर, धाक, धम्की, अनुनय, विनय गरेर रामचन्द्र पौडेलले रुख चिन्ह लिएको हुन सक्दछ । यो निर्वाचन मेरो र रामचन्द्र पौडेलको बीचको हो अनि गलत प्रवृत्ति विरुद्धको । कसरी म काँग्रेस नभएर रामचन्द्र पौडेल काँग्रेस हुन सक्दछ । हजारौँ हजार काँग्रेसका कार्यकर्ताहरूको समर्थन प्राप्त गर्ने व्यक्ति काँगे्रस हुने कि केन्द्रमा जालझेल गरेर टिकट ल्याउने व्यक्ति काँग्रेस हुने । जनताको चाहना विपरीत भोटहाल भन्ने अधिकार कसैलाई छैन र जनताले त्यस्तो कुरा मान्दैन पनि । त्यसैले यस निर्वाचनमा मलाई मतदान गरेर विजयी गराउनुहोस् । मैले पनि ५५ वर्षको मेरो लामो राजनैतिक इतिहास त्यसै दाउमा राखेको छैन । तपाईंहरू अडिग हुनुहोस् । कुनैपनि डर, धम्की र धाकबाट पछि नहट्नुहोस् । म निरन्तररूपमा तपाईंहरूको साथमा रहने छु र जिम्मेवारी लिनेछु ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !
स्थानीय निकायको निर्वाचनमा चितवनमा हसिया हथौडा र सूर्यलाई भोट हाल्न निर्देशन दिने वर्तमान नेतृत्वलाई तनहुँमा मेरो विरुद्ध बोल्ने कुनै नैतिक अधिकार छैन । यसै निर्वाचनमा पनि गोर्खामा काँग्रेसका कार्यकर्ताहरूलाई काँग्रेसमा भोट नदिन निर्देशन दिइएकोछ भने मकवानपुर, सिन्धुपालान्चोक, म्याग्दी, बैतडी लगायतका जिल्लामा काँग्रेसले के काँग्रेसलाई मतदान गर्न पाउँछन् ? तराईमा मधेसवादी दलहरूसँग कस्तो सम्झौता हुन्छ तदनुरूप भोट हाल्नु पर्ने निर्देशन आउँदैछ । एकै पटक सत्ता स्वार्थको लागि उग्र वामपन्थीदेखि उग्र दक्षिणपन्थी दलहरूलाई मतदान गर्न लगाउने नेतृत्वलाई तनहुँमा पार्र्टी निर्णय, आदर्श र नैतिकताको कुरा गर्न लाज लाग्दैन ? त्यहाँका कार्यकर्ताको मन कति रोएको होला ? यदि माओवादीसँगको गठबन्धन नटुटेको भए काँग्रेसका कार्यकर्ताले कहाँ कसलाई भोट हाल्नु पर्ने थियो सजिलै अनुमान गर्न सकिन्छ । सत्ता र आफ्नो स्वार्थको लागि आफू जेपनि गर्ने अरुलाई अनुशासनको कुरा गर्ने कहाँसम्मको नैतिकता हो । अव काँग्रेसका सबै कार्यकर्ताहरू सचेत हुनु आवश्यक छ । त्यसैले म आज यिनै प्रवृतिका विरुद्धमा खडा भएको छु । देशभर आफ्नो स्वार्थ सिद्ध गर्नका लागि कार्यकर्ताहरूलाई विभिन्न चुनाव चिह्नमा मतदान गर्न लगाउने तनहँुमा कार्यकर्ताको भावना विपरीत जालझेल र कपट गरेर रुख चिन्न लिएको छु भनेर कार्यकर्तामाथि दमन गर्न खोजियो भने त्यसको प्रतिरोध हामी सबै मिलेर गर्नु पर्दछ । अन्यायको विरुद्ध तपाईंहरू पनि प्रतिरोध गर्नु होस् म तपईंहरूको साथमा रहने छु । म कार्यकर्ताहरूलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने मानिस होइन । म कहिल्यै आफुमाथि भरोसा गर्ने व्यक्तिलाई कहिल्यै धोका दिएको छैन र दिने पनि छैन । यो कुरा बुिझदिन म सम्पूर्ण सहृदयी कार्यकर्ताहरूमा पुनः अनुरोध गर्न चाहन्छु ।
यस जटिल र विषम परिस्थितिमा काँग्रेसका कार्यकर्ताहरू नै सर्वेसर्वा हुन् । उनीहरूले जसलाई चाहन्छन् त्यही नै काँग्रेसको आधिकारिक उमेदवार हो । त्यसैले तनहुँ क्षेत्र नं. १ मा म नै काँग्रेसको आधिकारिक उमेदवार हँु । आदरणीय लोकतन्त्रप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू, मलाई एक पटक फेरि सम्झिदिनुहोस् । के म तपाईंहरूको साथ छोड्न सक्छु । के म काँग्रेसबाहेक अरु हुन सक्छु जसले आफ्ना ५५ वर्ष यही पार्टीमा बितायो । अहिले शक्ति र पैसाको बलमा ममाथि अन्याय गरिएको छ । निर्वाचनको समयमा पार्टीका कार्यकर्ताहरूलाई मानमर्दन गर्ने, आर्थिक मोल मोलाइ गरी सिद्धान्त र आदर्शलाई पैसामा बिक्री गर्ने, परिवारवाद, नातावाद र गुटगत आधारमा टिकट वितरण गर्ने तथा नेपाली काँग्रेसका इमान्दार कार्यकर्ताहरूलाई क्रमशः पाखा लगाउने षड्यन्त्र र प्रवृत्ति विरुद्धको मेरो उमेदवारीलाई साथ दिनुहुन र ..... ..... चिन्हमा मतदान गरी मलाई अत्यधिक मतले विजयी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु ।

गोविन्द राज जोशी 
प्रतिनिधि सभा सदस्यका उमेदवार 
तनहुँ क्षेत्र नं १